News Desk
नेपल्स — मंसिर २१, २०७७। रोयटर्स
इटालीको नेपोलीले आफ्नो सान पाउलो रंगशालाको नाम आधिकारिक रूपमा फेरेर डिएगो अरमान्डो म्याराडोना राखेको छ । दिवंगत म्याराडोनाले नेपोलीबाट खेल्दा दुई सिरी ‘ए’ उपाधिसँगै यूईएफए कप जितेको थियो । नेपल्सको सिटी काउन्सिलले शुक्रबार रंगशालाको नाम फेर्ने निर्णयलाई औपचारिक रूपमा मान्यता दिएको छ ।
गत साता मात्रै ब्युनस आयर्सको घरमा रहेका म्याराडोनाको हृदयघातका कारण निधन भएको थियो । त्यसको एक महिना जति अगाडि म्याराडोनाले आफ्नो ६० औं जन्मदिन मनाएका थिए । नेपल्सका मेयर लुइगी डे मागिस्ट्रिसले प्रस्तुत गरेको प्रस्तावलाई काउन्सिलले स्विकारेको हो । म्याराडोनाले ७ वर्ष नेपोलीमा बिताए र यसक्रममा विश्वकप विजेता खेलाडीले १ सय १५ गोल गरेका थिए ।
नेपोली क्लबका अध्यक्ष एरेलो डे लुउरेन्टिसले भनेका छन्, ‘पछिल्लो १७ वर्षदेखि मैले रंगशालाको नाम म्याराडोना राख्नुपर्छ भनेर भनिरहेको थिएँ । म चाहन्थें, यसको नाम डिएगो अरमान्डो म्याराडोना राख्नुपर्छ । तर अहिले भर्खर यसले औपचारिक मान्यता पाएको छ ।’ सन् १९८४ मा नेपोलीले कीर्तिमान रकममा उनलाई किनेको थियो ।
(कान्तिपुर दैनिक)