News Desk
काठमाडौँ — मंसिर २४, २०७७।
त्रिपुरासुन्दरीका अभिषेक गुरुङले तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको जिल्लास्तरीयतर्फको उपाधि जितेका छन् ।
तोप–२१ को आयोजनामा भएको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधि जिते । सिन्धुपाल्चोक जिल्लास्तरीय विधातर्फ विजेता अभिषेकले ३० हजार र उपविजेता सुरेन्द्रले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
मंगलबारै सेमिफाइनलमा अभिषेकले बलेफीका अजय तामाङमाथि रिटायर्ड हर्टको आधारमा जित निकाल्दै फाइनल यात्रा तय गरे । पहिलो सेट २१–१७ ले पछाडि परेका अजय दोस्रो सेटमा ११–७ को अवस्थामा घाइते हुन पुगेपछि खेल छाडेका थिए । अर्को सेमिफाइनलमा चौताराका सुरेन्द्रले छिमेकी रमेश श्रेष्ठमाथि २१–१६, ११–२१, २१–१४ को जित निकाल्दै फाइनल पक्का गरेका थिए । तेस्रो भएका चौताराका रमेश श्रेष्ठ र बलेफीका अजय तामाङले जनही ५ हजार प्राप्त गर्नेछन् ।
पुरुष युगलतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी तथा त्रिपुरासुन्दरीका अभिषेक गुरुङ र युवराज अधिकारीको जोडी फाइनल पुगेका छन् । प्रकाश र रमेशको जोडीले बलेफीका अजय तामाङ र राजकुमार तामाङको जोडीलाई २०–२२, २१–१०, २१–७ ले तथा अभिषेक र युवराजको जोडीले चौताराका सुन्दर श्रेष्ठ र कैलाश घलेको जोडीलाई २०–२२, २१–११, २१–११ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा भएको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको राष्ट्रिय स्तरका पुरुष एकल विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । सेमिफाइनलिस्ट दुईले जनही १० हजार प्राप्त गर्नेछन् ।
(कान्तिपुर दैनिक)