विश्‍वकप १९८२ का नायक रोसी रहेनन्
News Desk
Dec-10 , 2020 तारिख 04:01 बेलुका

मिलान — मंसिर २५, २०७७। रोयटर्स

सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार निधन भएको छ । उनी ६४ वर्षका थिए ।

इटालीको टीभी च्यानल राइ स्पोर्टसले रोसीको निधन भएको पुष्टि गरेको छ । उनकै उत्कृष्ट प्रदर्शनमा इटालीले त्यति बेला तेस्रो पल्ट विश्वकप जितेको थियो ।

रोसी राइ स्पोर्टसमै फुटबल पण्डितका रूपमा काम गरिरहेका थिए । राइ स्पोर्टसले भनेको छ, ‘निकै दु:खद खबर, पाओलो रोसी रहेनन् । उनी सधैं हाम्रो सम्झनामा रहने छन् ।’ मृत्युको कारण भने टीभी च्यानलले खुलाएको छैन ।

रोसीले सन् १९८२ को विश्वकपको दोस्रो चरणमा ब्राजिलविरुद्ध इटालीका लागि ह्याट्रिक गरेका थिए । यस्तै सेमिफाइनलमा पोल्यान्डविरुद्ध प्राप्त २–० जितमा दुवै गोल उनको नाममा रह्यो । उनले पूरै प्रतियोगितामा ६ गोल गरेका थिए ।

यस्तै पश्चिम जर्मनीविरुद्ध फाइनलमा प्राप्त ३–१ जितमा पनि रोसीले नै पहिलो गोल गरेका थिए । उनले घरेलु फुटबलमा भने युभेन्ट्स र मिलानका लागि खेले । उनले दुई अवसरमा सिरी ए उपाधि तथा एक/एक युरोपियन कप र कोपा इटालिया जिते ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको