कालिनको अपूर्ण काल : रक्षात्मक खेलमा विश्वास
News Desk
Dec-13 , 2020 तारिख 04:23 बेलुका

कोरोना भाइरसको महामारीका कारण नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सम्झौताको चार महिना बाँकी छँदै राजीनामा दिए । यी स्विडिस प्रशिक्षकको नेतृत्वमा नेपाली टिम कस्तो रह्यो ? प्रदर्शन र नतिजासँगै टिमको मैदानबाहिर वातावरण कस्तो रह्यो त ?

काठमाडौँ — मंसिर २८, २०७७। 

स्विडिस प्रशिक्षक योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टिममा स्वर्णिम डेब्यु गरेका थिए कुवेतविरुद्ध गोलरहित खेल्दै । त्यो पनि कुवेतकै मैदानमा । उनले जिम्मेवारी लिएको तीन साताभित्रै नेपालले त्यो मैत्रीपूर्ण खेलमा बराबरी गरेको थियो ।

त्यसको चार दिनपछि भने कुवेतले १–० ले जित्यो । एसियाली फुटबलमा तल्लो स्तरको मानिने नेपाली टिमका लागि कुवेतविरुद्ध एक गोलको हार पनि सकारात्मक मान्नुपर्छ ।

विश्वकपको अनुभव बटुलिसकेको खाडी मुलुक कुवेतले प्रतिबन्ध (सन् २०१५ देखि २०१७ सम्म) खुलेपछि जोर्डन, क्यामरुन, इजिप्ट, इराक, अस्ट्रेलिया, साउदी अरेबिया, बहराइनजस्ता बलिया टिमविरुद्ध नियमित खेलेको थियो । त्यसैले नेपालले कुवेतविरुद्ध उसैको भूमिमा निकालेको ०–० को बराबरी र १–० को हार कालिन युगको उत्कृष्ट सुरुआत थियो । तर, कालिन आफैं भने महत्त्वाकांक्षी थिएनन् । कुनै पनि खेलमा जित हात पार्छौं भनेर दाबी नगरेका उनले हरेकपल्ट खेलअघि भन्ने गरेका थिए, ‘राम्रो खेल प्रदर्शन गर्ने प्रयास गर्नेछौं । तर, खेल जित्छौं भनेर ठोकुवा गर्दिनँ ।’ उनले पूर्व प्रशिक्षकहरूले जस्तै ठूल्ठूला कुरा पनि गरेनन् ।

विश्वकप २०२२ र एसियन कप २०२३ छनोटको समूह ‘बी’ मा नेपालले प्रतिस्पर्धीको रूपमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईलाई पायो । नेपाली टिमलाई लामो समयपछि एसियाली च्याम्पियन भइसकेको अस्ट्रेलियाजस्ता शक्तिशाली टिमविरुद्ध खेल्ने अवसर मिल्यो । कुवेतविरुद्ध मैत्रीपूर्ण खेलको नतिजालाई लिएर विश्वकप छनोटमा पनि नेपाली टिमसँग राम्रो नतिजाको आशा पलाएको थियो । प्रशिक्षक कालिन आफैं भने महत्त्वाकांक्षी भएनन् । विश्वकप छनोटको सुरुआत पनि अपेक्षाकृत भएन । छनोटको पहिलो खेलमा कुवेतविरुद्ध ७–० ले हार्‍यो ।

कुवेतकै भूमिमा मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी र एक गोलको हार बेहोरेको नेपालले त्यसको ६ महिनापछि विश्वकप छनोटको सुरुआत पनि विदेशी भूमिमै गर्‍यो । तर, सात गोलको हारले कालिन स्तब्ध भए । त्यो नतिजा न उनले सोंचेका थिए न त नेपाली फुटबल समर्थकले । नेपालले पहिलो हाफमा दुई गोल बेहोरेको थियो भने दोस्रो हाफमा पाँच गोल । इन्ज्युरी टाइममा मात्रै दुई गोल भएको थियो । अर्थात्, नतिजा अनपेक्षित थियो । त्यसमा फिक्सिङको आशंकामा एन्फाकै सम्बन्धित निकायले केही खेलाडीसँग सोधपुछ नै गर्‍यो । कुवेतबाट फर्केपछि कालिनले भनेका थिए, ‘मैत्रीपूर्ण दुई खेलको प्रदर्शन र नतिजापछि मैले त्यही कुवेती टिमविरुद्ध त्यति ठूलो हार र त्यस्तो नराम्रो प्रदर्शनको कल्पना पनि गरेको थिइनँ । पूरा टिममै मिहिनेत गरेजस्तो देखिनँ । कसरी त्यस्तो भयो भनेर म आफै चकित छु ।’ त्यतिबेला उनी निकै चिन्तित पनि देखिन्थे ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको