बार्सिलोनाले रियल सोसिडाडलाई २-१ ले हरायो
News Desk
Dec-17 , 2020 तारिख 03:26 बेलुका

बार्सिलोना — पुस २, २०७७। एजेन्सी

बार्सिलोनाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर बुधबार स्पेनी ला लिगामा रियल सोसिडाडलाई २–१ ले हरायो । खराब लयबाट गुज्रिरहेको बार्सिलोनाले अंकतालिकाको शीर्ष स्थानमा रहेको टिमलाई हराएर आफू अझै बलियो रहेको पनि प्रमाणित गरेको छ ।

ब्राजिली स्ट्राइकर विलियन होजेले पाहुना टिमलाई २७ औं मिनेटमा अग्रता दिलाएयता बार्सिलोनाका लागि जोर्डी अल्बाले बराबरी गोल फर्काए । बार्सिलोनाको निर्णायक गोल भने फ्रेन्की डे जोङको नाममा रह्यो ।

लिगमा लगातार दोस्रो जितपछि बार्सिलोना १२ खेलबाट २० अंकमा पाँचौं स्थानमा उक्लिन सफल रह्यो । हारले सोसिडाडले भने शीर्ष स्थान गुमाएको छ र दोस्रोमा झरेको छ । उसको २६ अंक छ । समान २६ अंकमा गोल अन्तरले एटलेटिको म्याड्रिड पहिलो स्थान पुगेको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको