Devil Singh Rajput
काठमाडौँ, २ जेठ । अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको बीमा बजारलाई गतिशील बनाउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिपादित बीमाका नवीनतम सिद्धान्त नेपाली बीमा बजारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको सेमिनारमा बीमा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षमा बीमा सेवाको उल्लेख्य विस्तार भए पनि हालसम्म कुल जनसङ्ख्याको २२ प्रतिशतमा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्ष्यमा बीमा सेवाको दु्रत विस्तारमा समितिको प्रभावकारी भूमिकामाथि जोड दिएका छन् ।
चाँडै बीमा प्राधिकरण ऐन संसद्बाट पारित हुने र बीमाको नियमन तथा व्यवसाय विस्तारले व्यापकता पाउने जानकारी उनले दिएका छन् । बीमा व्यवसायमा कृषि बीमा, लघु बीमा तथा घुम्ती बीमा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम अगाडि बढाउन उनको आग्रह थियो । बीमाको पहुँच द्रुत गतिमा विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेका कम्पनीले त्यस्तो सम्भव नभएमा नयाँ कम्पनी थप्नुपर्ने बताएका छन् । (गोरखापत्रबाट)