कोरोना बिमा भुक्तानीको विकल्प ल्याउन निर्देशन
News Desk
Sep-30 , 2021 तारिख 07:20 बिहान

काठमाडौँ — १४ असोज २०७८   

काठमाडौँ , कोरोना बिमा भुक्तानी सम्बन्धमा बिमा समितिले बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेको छ । सरकारले पैसा नदिएको कारण करिब ६ महिनादेखि बिमितले भुक्तानी पाउन नसकिरहेको बेला समितिले अर्थमन्त्रीलाई भेटेर समस्याको गाँठो फुकाउन आग्रह गरेको हो । भेटका क्रममा अर्थमन्त्री शर्मासँग कोरोना बिमाबापत सरकारले भुक्तानी गर्नुपर्ने रकम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘हामीले तीन/चारवटा विकल्प दिएका छौं,’ उनले भने, ‘अर्थमन्त्री व्यस्त रहेकाले सबै विकल्पबारे छलफल हुन पाएन । अर्को भेटमा पुनः सम्भावित विकल्पबारे छलफल गर्छौं ।’ भेटका क्रममा अर्थमन्त्री शर्माले भुक्तानी गर्नुपर्ने रकम धेरै रहेकाले तत्काल नगदै भुक्तानी गर्न सक्ने सम्भावना नरहेको बताएका थिए । सोही कारण समस्या समाधानका अरू विकल्पबारेमा उनले छलफल गर्न चाहेको स्रोतले बताएको छ ।

लामो समयसम्म पनि सरकारले पैसा नदिएपछि बिमा समितिले रकम भुक्तानीको विभिन्न विकल्पसहित अर्थमन्त्रीलाई भेट्न गएको हो । समितिल पेस गरेका विकल्पमा राष्ट्रिय बिमा संस्थान सरकारी स्वामित्वको भएकाले कोरोना बिमामा उक्त कम्पनीले भुक्तानी गर्नुपर्ने रकमबारे सरकारले केही निर्णय गर्न सक्ने, छलफलका आधारम बिमा समिति, बिमा कम्पनी र पुनर्बिमा कम्पनीले थप रकम व्यहोर्न सक्ने, अहिले कम्पनीले रकम भुक्तानी गर्ने र पछि सरकारले सो रकम कम्पनीले तिर्नुपर्ने करमा मिलान गरिदिनेलगायत छन् । उल्लेखित विकल्पबारे थप अध्ययन गरी अर्को छलफलमा ल्याउन अर्थमन्त्री शर्माले समितिलाई निर्देशन दिएका छन् ।

हालसम्म कोरोना बिमाबापत १ लाख ४३ हजार ७ सय ४८ वटा दाबी परेको समितिको तथ्यांक छ । यी दाबीबापत कम्पनीहरूले १३ अर्ब ७१ करोड ४७ लाख ८० हजार २ सय ६६ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । यो औसतमा ४७ हजार ८ सय दाबीबापतको हो । यसका आधारमा अझै झन्डै १ लाख दाबीको भुक्तानी बाँकी छ । ती दाबीबापत कम्पनीले बिमितलाई करिब ९ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बिमा समितिले बताएको छ । भुक्तानी गर्न बाँकी दाबीमध्ये धेरैजसो प्रतिव्यक्ति १ लाख रुपैयाँका छन् ।     

 ( कान्तिपुर दैनिक )