धमाधम अनुदान बाँड्दै महानगर
News Desk
Oct-04 , 2021 तारिख 05:29 बिहान

काठमाडौँ — १८ असोज २०७८   

काठमाडौँ , प्रयागमार्ग पार्क, अमरावती पार्क, ज्येष्ठ नागरिक आश्रम तथा पार्क निर्माण योजनालाई काठमाडौं महानगरपालिकाले गत वर्षदेखि बहुवर्षे योजनामा राखेको छ । प्रयाग मार्ग पार्क निर्माण भइरहेको छ भने ज्येष्ठ नागरिक आश्रम तथा पार्क र अमरावती पार्कको कामै सुरु भएको छैन । काठमाडौं–३१ र ३२ का अनुसार जग्गा खरिद प्रक्रिया लम्बिँदा निर्माणमा ढिलाइ भएको हो । महानगरले पार्क मात्र होइन, आफ्नै कार्यालय भवनसमेत अझै बनाउन सकेको छैन । हालै मात्र टेकुस्थित वातावरण विभाग परिसरमा भवन बनाउन सुरु त गरिएको छ तर निर्माणमा तीव्रता छैन । यसका लागि गत वर्ष १० करोड र यो वर्ष २५ करोड छुट्याइएको थियो । बहुवर्षे योजनामा राख्दा एकै पटक ठूलो आर्थिक भार नपर्ने र पर्याप्त समयसमेत खर्चिन पाइने महानगरको धेय देखिन्छ । आफ्नै कार्यालय भवन र पूर्वाधारलाई बहुवर्षे योजनामा राखेको महानगरले उपत्यका र बाह्य जिल्लाका नगरपालिकालाई भने बर्सेनि अनुदान दिइरहेको छ ।

महानगरले नगर–नगर साझेदरी कार्यक्रमअन्तर्गत आव ०७४/७५ देखि गत आव ०७७/७८ सम्म उपत्यकाका १२ वटा नगरपालिकालाई हरियाली प्रवर्द्धन गर्न अनुदान दिएको छ । केहीले दोहोर्‍याएर समेत यस्तो अनुदान पाएका छन् । यसबाहेक भगिनी सम्बन्ध स्थापना भएका सिन्धुपाल्चोकको मेलम्ची र जुम्लाको चन्दननाथ नगरपालिकालाई पनि गत वर्ष नै अनुदान दिइएको थियो । गत पुस ७ मा काठमाडौं महानगर र जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको थियो । त्यसपछि काठमाडौंले चन्दननाथ–३ मा धिमी पार्क निर्माणमा साझेदारी गर्न सम्झौता गर्‍यो । पर्यापर्यटन एवं धार्मिक पर्यटनका लागि निर्माण गरिने पार्कका लागि गत वर्ष १ करोड ५० लाख रुपैयाँसमेत दिइसकेको छ । तर सम्झौताअनुसार चालु आवमै निर्माण सम्पन्न हुनुपर्ने पार्कको अहिलेसम्म डीपीआर मात्र तयार भएको चन्दननाथ उपप्रमुख अप्सरादेवी न्यौपानेले बताइन् । ‘पार्कको टेन्डर खुलाएर निर्माण थाल्न बाँकी छ,’ उनले भनिन्, ‘काम सुरु भयो भने यसै वर्ष सकिएला नि ।’ यसबारे महानगरको सहरी विकास पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले भने टेन्डर प्रक्रियामार्फत जाँदा ढिलाइ हुने गरेको प्रस्टीकरण दिए । ‘टेन्डर प्रक्रियाले अलि धेरै समय लिन्छ, हामीले उपभोक्ता समितिमार्फत गर्ने नियम छ भने पनि गर्दा हुन्छ भनेका छौं,’ उनले भने ।  

त्यस्तै, कीर्तिपुर नगरपालिकाले महानगरले दिएको बजेट युद्ध स्मारक पार्क र राराहिल पार्क बनाउन खर्चेको छ । तर दुवै पार्कको काम सकिएको छैन । पर्याप्त बजेट नभएकै कारण पार्क निर्माण सम्पन्न हुन नसकेको नगर उपप्रमुख सरस्वती खड्का बताउँछिन् । ‘काम सम्पन्न नभए पनि फोहोर फाल्ने थलोलाई पार्कमा परिणत गरेपछि हरियाली देखिएको छ,’ उनले भनिन्, ‘कालु पाण्डेलगायत व्यक्तित्वका मूर्तिहरू तयार भइसकेका छन्, राख्न मात्र बाँकी छ ।’ नगरपालिकाको प्रस्तावमा महानगरको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत बजेट प्राप्त गरेको उनले सुनाइन् । ‘आफ्नो योजनाको नाम, लागत, कहाँ बनाउने भन्ने विषयसहित प्रस्ताव महानगरलाई बुझाउँछौं,’ उनले भनिन्, ‘त्यही प्रस्तावअनुसार महानगरले बजेट दिने हो ।’ महानगरका अनुसार नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत ०७४/७५ मा टोखा नगरपालिकालाई १ करोड रुपैयाँ अनुदान दिइएको थियो । ०७५/७६ म दक्षिणकाली, चन्द्रागिरि, कीर्तिपुर, नागार्जुन, गोकर्णेश्वर, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, कागेश्वरी मनोहरा नगरपालिकालाई १/१ करोड रुपैयाँ प्रदान गरिएको तथ्यांक छ । गत आवमा पुनः टोखा, कागेश्वरी मनोहरा, दक्षिणकाली, कीर्तिपुर, तारकेश्वर र चन्द्रागिरिले थप १/१ करोड रुपैयाँ प्राप्त गरेका थिए । यसबाहेक भक्तपुरको चाँगुनारायण, मध्यपुर थिमि नगरपालिकालाई पनि महानगरले यही शीर्षकमा १ करोड रुपैयाँ नै अनुदान दिएको थियो ।

महानगरले पहिलो चरणको कामको प्रगति विवरण बुझाएपछि दोस्रो चरणमा थप १ करोड रुपैयाँ अनुदान दिएको जनाएको छ । प्रगति विवरण नबुझाएकै कारण दोस्रो चरणमा बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले अनुदान नपाएको पूर्वाधार विभाग प्रमुख थापा बताउँछन् । उनका अनुसार नगर साझेदारी कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ र भगिनी सम्बन्ध स्थापना भएका नगरलाई १ करोड ५० लाख रुपैयाँका दरले अनुदान दिइएको छ । उपत्यकाको एकीकृत विकास गर्न महानगरले पार्क, हरियाली र सम्पदा प्रवर्द्धनसम्बन्धी परियोजना सञ्चालन गर्न बजेट दिने गरेको महानगर प्रवक्ता ईश्वरमान डंगोलले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) अनुसार भगिनी सम्बन्ध स्थापना गर्ने गरेको उनको भनाइ छ । ‘अरू नगरलाई पनि सहयोग गर्नु महानगरको दायित्व हो,’ उनले भने, ‘महानगर आफू मात्र अगाडि बढेर विकास सम्भव हुँदैन । छेउछाउको नगरसहित महानगर विकास भयो भने हेर्न योग्य हुन्छ ।’

छेउछाउका नगरको वातावरण बिग्रेको छ भने महानगरको पनि वातावरण बिग्रने भएकाले विकासको काम एकसाथ गर्नुपर्ने उनको तर्क छ । अनुदान दिइएका अधिकांश नगरका पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उनको दाबी छ । केही पार्क निर्माण कोरोना महामारीका कारण ढिलाइ भएको उनले बताए । भगिनी सम्बन्ध स्थापना भएपछि महानगरले त्यस्ता नगरलाई स–सानो मात्रै सहयोग गर्दै आएको उनले बताए । ‘अन्य नगरले आफूलाई आवश्यक सहयोगको लागि योजनाको प्रस्ताव पेस गर्छन्,’ उनले भने, ‘त्यही योजना हेरेर महानगरले आर्थिक सहयोग गर्ने हो ।’ यस्तो बजेट तोकिएको प्रयोजनमै खर्च गर्नेुपर्ने नियम नै बनाइएको उनले सुनाए । ‘बजेटका कारण योजना पूरा नभए महानगरले थप बजेट पनि दिनेगरेको छ,’ उनले थपे ।   

( कान्तिपुर दैनिक )

धेरै पढिएको