News Desk
काठमाडौं, जेष्ठ २४ – सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा जारी नेपाल पौडी च्याम्पियनशिपको पहिलो दिन चार राष्ट्रिय कीर्तिमान कायम भएका छन्। प्रतियोगितामा देशका शीर्ष पौडीबाजहरूले प्रभावशाली प्रदर्शन गर्दै नयाँ इतिहास कोरेका हुन्।
ओलम्पियन र त्रिभुवन आर्मी क्लबकी डुवाना लामाले महिला ८ सय मिटर फ्रिस्टाइलमा नयाँ कीर्तिमान राख्दै स्वर्ण पदक हात पारिन्। उनले १० मिनेट ६.९२ सेकेन्डमा दूरी पार गर्दै अदिती धितालको २०१३ को कीर्तिमान (११:४०.४६) लाई भत्काएकी हुन्।
यसै स्पर्धामा एपीएफकी आर्या महर्जनले पनि १० मिनेट ४६.७४ सेकेन्डमा दूरी पूरा गर्दै अदितीको कीर्तिमान तोडिन्, तर डुवानाभन्दा पछि पर्दा रजतमै सीमित रहिन्।
त्यसैगरी, महिला २०० मिटर बटरफ्लाइमा नेपाल पुलिस क्लबकी दिभान्सी जोसीले पनि नयाँ राष्ट्रिय कीर्तिमान राखिन्। उनले दूरी ३ मिनेट ०.१९ सेकेन्डमा पार गरिन्, जसले स्वस्तिका भण्डारीले सन् २०२३ मा बनाएको ३:०६.४५ सेकेन्डको कीर्तिमान तोड्यो।
पुरुष १०० मिटर बटरफ्लाइमा भने नेपाल पुलिस क्लबका अनुभव सुब्बाले चमत्कारीय प्रदर्शन गर्दै ५९.५४ सेकेन्डमा दूरी पूरा गरे। उनले नाजिर राय हुसेनको २०२२ को कीर्तिमानलाई झण्डै चार सेकेन्डले पछाडि पार्दै नयाँ कीर्तिमानको मालिक बने।
प्रतियोगिताको पहिलो दिन २६ विधामा प्रतिस्पर्धा सम्पन्न भयो। विविध उमेर समूह र क्लबका सहभागिताले प्रतियोगिता रोमाञ्चक बनाएका छन्। दुई दिने प्रतियोगिता अन्तर्गत अन्तिम दिनका खेलहरू भोलि सम्पन्न हुनेछन्, जसबाट अझ नयाँ कीर्तिमान र रोमाञ्चक नतिजा आउने अपेक्षा गरिएको छ।