News Desk
म्युनिख, जर्मनी |आइतबार राति म्युनिखमा भएको रोमाञ्चक फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ ले हराउँदै दोस्रोपटक यूईएफए नेशन्स लिगको उपाधि उचालेको छ।
निर्धारित ९० मिनेटमा दुबै टोलीले २–२ को बराबरी खेल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो।
स्पेनले अग्रता लिए पनि पोर्चुगलले पुनरागमन गर्यो
खेलको २१औं मिनेटमा स्पेनका मार्टिन जुबिमेन्दीले गोल गर्दै अग्रता दिलाए। पाँच मिनेटमै पोर्चुगलका नुनो मेन्डिसले बराबरी गोल फर्काए।
तर पहिलो हाफ सकिनुअघि मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई पुनः २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा ६१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। यो गोलसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३८ पुर्याउँदै नयाँ कीर्तिमान पनि बनाए।
टाइब्रेकरमा पोर्चुगल अजेय
पेनाल्टी शुटआउटमा पोर्चुगलका गोन्कालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेज, नुनो मेन्डिस र रुबेन नेभ्सले गोल गर्दा, स्पेनका मोरिनो, एलेकस बिना र इस्कोले गोल गरे। तर निर्णायक मोडमा अल्भारो मोराटाको प्रहार पोर्चुगलका गोलरक्षकले रोकिदिए।
तेस्रो अन्तर्राष्ट्रिय उपाधि र रोनाल्डोको ऐतिहासिक उपलब्धि
यो जितसँगै पोर्चुगलले दोस्रोपटक नेशन्स लिग उपाधि जितेको हो। कप्तान क्रिस्टियानो रोनाल्डोका लागि भने यो तेस्रो प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो, सन् २०१६ को युरो कप, २०१९ को नेशन्स लिग र अहिलेको २०२५ संस्करण।