News Desk
– एजेन्सीको सहयोगमा
युएफा नेसन्स लिगको च्याम्पियन बनेसँगै पोर्चुगलले नौ वर्षको अन्तरालमा तेस्रो अन्तर्राष्ट्रिय उपाधि हात पारेको छ। यी सबै महत्त्वपूर्ण सफलताका केन्द्रमा फेरि पनि थिए फरवार्ड क्रिस्टियानो रोनाल्डो, जसको प्रेरणादायी नेतृत्व र अनुभवले पोर्चुगललाई उपाधिसम्म पुर्यायो।
गएराति जर्मनीको एलियान्ज एरिनामा सम्पन्न फाइनलमा पोर्चुगलले युवायुक्त स्पेनसँग प्रतिस्पर्धा गरेको थियो। अनुभवी कप्तान रोनाल्डोको संयोजनमा रहेको टिमले एकताबद्ध प्रयासमार्फत स्पेनलाई हराउँदै उपाधि उचालेको हो। यस जितसँगै पोर्चुगलले ६ वर्षपछि नेसन्स लिगको उपाधि दोहोर्याउन सफल भएको छ।
३९ वर्षीय रोनाल्डोको कप्तानीमा पोर्चुगलले फाइनलमा २–२ को रोमाञ्चक बराबरीपछि पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्यो। निर्णायक क्षणमा पोर्चुगलका गोलकिपर डिएगो कोस्टाले अल्भारो मोराटाको प्रहार रोक्दै टिमलाई जितको नायक बनाए। कोस्टाले यस उपाधि जिताएर लामो समयदेखि आफूविरुद्ध उठ्दै आएको आलोचनाको जवाफ पनि दिएका छन्।
“खेल निकै कठिन थियो। स्पेन जस्तो बलियो टिमविरुद्ध जित निकाल्न सजिलो थिएन। तर हामी एकजुट थियौं, त्यसैले सफल भयौं,” खेलपछि पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले भने।
नेसन्स लिग ए लिगको समूह–१ मा रहेको पोर्चुगलले प्रारम्भिक चरणमा चार खेल जित्दा दुई खेल बराबरीमा टुंग्याएको थियो। अपराजित यात्रा गर्दै शीर्ष स्थानमा रहेको पोर्चुगलले त्यसपछि क्वार्टरफाइनलमा डेनमार्कलाई दुई लेगमा कुल ६–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
सेमिफाइनल जर्मनीको घरेलु मैदानमा आयोजक जर्मनीविरुद्ध भएको थियो। अपेक्षा गरिएअनुसार जर्मनी घरेलु मैदानमा बलियो प्रतिस्पर्धी मानिएको थियो, तर रोनाल्डो र प्रोन्सिस्को कोन्सेसाओले गरेको गोलले घरेलु समर्थकमाझ जर्मनी स्तब्ध रहन पुग्यो।
स्पेनसँगको फाइनल रोमाञ्चक रह्यो। युरो च्याम्पियन स्पेनसँगको खेल बराबरीमा सकिएपछि पेनाल्टीमार्फत पोर्चुगलले उपाधि जित्यो। यो सफलतासँगै रोनाल्डोको कप्तानीमा पोर्चुगलले २०१६ को युरो कप र २०१९ को पहिलो नेसन्स लिगपछि तेस्रो अन्तर्राष्ट्रिय उपाधि जितेको हो।
रोनाल्डोका लागि पछिल्ला केही वर्ष व्यक्तिगत रूपमा चुनौतीपूर्ण थिए। रियल मड्रिडबाट विदा लिएपछि युभेन्टस र म्यानचेस्टर युनाइटेडमा ट्रफी जित्न सकस भयो। त्यसपछि साउदी अरेबियाको क्लब अल नासरसँग आवद्ध भए पनि त्यहाँ खास उपाधि जित्न सकेनन्। समर्थकको आलोचना पनि खेप्नुपर्यो।
यद्यपि, नेसन्स लिगमा भने उनले फेरि प्रमाणित गरे कि आफू अझै पनि उपाधि जित्न सक्ने क्षमतावान खेलाडी हुन्। उनको आत्मविश्वास र कप्तानीले पोर्चुगललाई अर्को महत्त्वपूर्ण जित दिलायो।
विश्व फुटबलमा रोनाल्डोको नाम केवल खेलाडीको रुपमा सीमित छैन,उनी संघर्ष, सफलता, अनुशासन र प्रेरणाको नाम हो। उनको भावभंगी, नेतृत्व शैली र मैदानमा देखिने आत्मबल आज पनि यस्तै भन्छ – “म सक्छु, र पोर्चुगल जित्न सक्छ।”