News Desk
काठमाडौं, जेठ २८ | चार खेलको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा ३–० को अपराजित अग्रता बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको नेदरल्याण्ड्सले नेपाललाई ९ विकेटको क्षतिमा २३६ रनमै सीमित पार्न सफल भयो। नेपालको ब्याटिङतर्फबाट आरिफ शेखले ९० बलमा ८४ रनको उत्कृष्ट इनिङ्स खेलेर टोलीलाई बलियो लक्ष्य दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले आफ्नो इनिङ्समा ७ चौका र १ छक्का प्रहार गरे। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।
बलिङतर्फ नेपालका तर्फबाट आजको खेलमा निकै राम्रो प्रदर्शन देखियो। नेपाली टोलीमा पहिलो पटक समावेश भएका डेब्यु खेलाडी नन्दन यादवले ३ विकेट लिँदै चम्किला सुरुवात गरे। यस्तै, लामो समयदेखि राष्ट्रिय टोलीमा पुनरागमन गरेका लेग स्पिनर सन्दीप लामिछानेले पनि आफ्नो लय फर्काउँदै ३ विकेट लिए। ललित नारायण राजवंशीले समेत २ विकेट लिएर टोलीलाई जित नजिक पुर्याए।
नेदरल्याण्ड्सले जवाफी ब्याटिङमा ४९.१ ओभरमा २२० रनमै सिमित हुँदै हार ब्यहोर्नुपर्यो।