राष्ट्रपति रनिङ शिल्ड एथलेटिक्स: प्रविण र संगीताबाट नयाँ राष्ट्रिय कीर्तिमान
News Desk
Jun-12 , 2025 तारिख 12:40 बेलुका

काठमाडौं  | राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा बागमती प्रदेशका प्रविण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित प्रतिस्पर्धामा प्रविणले छात्र १०० मिटर दौडमा १०.७६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। उनले २०७० सालमा आशिष चौधरीले बनाएको १०.९० सेकेन्डको कीर्तिमान भंग गरे। सो दौडमा कोशी प्रदेशका सुजन मण्डलले रजत र लुम्बिनीका शुभम् बमरेलले कांस्य जिते।

त्यस्तै, संगीता विकले छात्रा ४०० मिटर दौड १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। यसअघि २०७६ मा अरुणा रिजालले बनाएको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान उनले तोडिन्। उक्त स्पर्धामा बागमतीकी अनिशा थारूले रजत तथा कर्णालीकी कृष्णा रानाले कांस्य पदक हात पारिन्।

छात्रा १०० मिटर दौडमा बागमती प्रदेशकी दिना गोपाली विजयी भइन्। उनले १२.८१ सेकेन्डमा दूरी पूरा गरिन्। लुम्बिनी प्रदेशकी आरूशी भट्टराई दोस्रो र गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेस्रो स्थानमा रहे।

छात्र ४०० मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते। उनले ५१.८९ सेकेन्डमा दूरी पूरा गरे। गण्डकीका प्रकाश महतोले रजत र सुदूरपश्चिमका विक्रम विष्टले कांस्य पदक प्राप्त गरे।

हाइजम्पतर्फ छात्र वर्गमा बागमतीका अविनाश सुनारले पहिलो स्थान हासिल गरे भने सुदूरपश्चिमका उज्ज्वलकुमार विक दोस्रो र गण्डकीका विवेक महतो तेस्रो बने। छात्रा वर्गमा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरीले शीर्ष स्थान हासिल गरिन्। गण्डकीकी सविता खातुन मिया दोस्रो र कर्णालीकी हीरा बुढा तेस्रो स्थानमा रहिन्।

सटपुट स्पर्धामा छात्र वर्गतर्फ सुदूरपश्चिमका विवेक चौधरीले स्वर्ण जिते। लुम्बिनीका राजन भण्डारीले रजत र कर्णालीका केशव विकले कांस्य जिते। छात्रा सटपुटमा बागमतीकी एलिना विकले पहिलो स्थान हासिल गरिन् भने सुदूरपश्चिमकी पूजा साउदले रजत र लुम्बिनीकी सम्झना चौधरीले कांस्य पदक जितिन्।

१५०० मिटर दौडतर्फ छात्रा वर्गमा गण्डकी प्रदेशकी नारायणी भण्डारीले स्वर्ण हात पारिन्। बागमती प्रदेशकी भगवती खड्का दोस्रो र सुदूरपश्चिमकी देवकी धामी तेस्रो बने।

 

धेरै पढिएको