नेपालले पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग आधिकारिक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न
News Desk
Jun-13 , 2025 तारिख 07:19 बिहान

नेपालले पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग आधिकारिक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यो ऐतिहासिक द्विपक्षीय सिरिज आगामी सेप्टेम्बरको अन्तिम सातामा संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा हुनेछ।

यो सिरिज नेपालको लागि विशेष महत्वको हुनेछ, किनभने यसअघि नेपालले कुनै पनि टेस्ट मान्यता प्राप्त राष्ट्रसँग यस्तो औपचारिक श्रृंखला खेलेको थिएन। यसअघि वेस्ट इन्डिज ‘ए’ टोलीसँग नेपालले टियू मैदानमा केही मैत्रीपूर्ण टी–२० खेलहरू खेलेको थियो, तर त्यो पूर्णरूपमा मान्य अन्तर्राष्ट्रिय सिरिज थिएन।

अहिलेसम्म नेपालले टेस्ट राष्ट्रहरूसँग केही अवसर मात्र पाएको छ। उदाहरणका लागि, एसिया कपमा भारत र पाकिस्तानजस्ता पावरहाउस टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ भने टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग जितको नजिक पुगेको थियो। श्रीलंकासँगको खेल भने वर्षाका कारण रोकिएको थियो। यद्यपि, पूर्ण टेस्ट टोलीसँग बाइलेटरल सिरिज खेल्ने यो पहिलो अवसर हो।

सिरिजको सबै खेल सेप्टेम्बर २७ देखि ३० तारिखसम्म सारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। नेपालमा वर्षाको सम्भावना उच्च रहेको र त्रिवि क्रिकेट मैदान अझै निर्माणाधीन अवस्थामा रहेकाले घरेलु आयोजनाको सम्भावना टर्दै गएको हो। त्यसैले, यूएईको न्युट्रल स्थल रोजिएको हो।

वेस्ट इन्डिजसँगको यो श्रृंखलाले नेपालको टोलीलाई आगामी टी–२० विश्वकप एसिया छनोटको तयारीमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास क्यानले व्यक्त गरेको छ। सिरिजपछि नेपालले ओमानमा हुने छनोट प्रतियोगितामा भाग लिनेछ।