News Desk
लन्डन | दक्षिण अफ्रिकाले २७ वर्षपछि बहुप्रतिक्षित आईसीसी उपाधि जित्न सफल भएको छ। लन्डनस्थित ऐतिहासिक लर्डस मैदानमा आयोजित वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियामाथि ५ विकेटको शानदार जित दर्ता गर्दै उपाधि उचालेको हो।
अस्ट्रेलियाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिन ५ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै ‘चोकर्स’ को ट्याग लागिरहेको प्रोटियस टोलीले आफ्नो आलोचकहरूलाई सशक्त जवाफ दिएको छ।
पहिलो इनिङ्समा अस्ट्रेलियाले २१२ रन बनाएको थियो, भने दोस्रो इनिङ्समा २०७ रनमा समेटिएको थियो। दक्षिण अफ्रिका पहिलो इनिङ्समा मात्र १३८ रनमै अलआउट भएको थियो। माक्रम शून्यमा आउट भएका थिए। तर दोस्रो इनिङ्समा उनले खेलको मोड नै परिवर्तन गरे।
७२ रनमै दुई विकेट गुमाइसकेको दक्षिण अफ्रिकालाई एइडन माक्रम र कप्तान टेम्बा बाभुमाले संकटबाट उकासे। उनीहरूले तेस्रो विकेटका लागि १४७ रनको महत्वपूर्ण साझेदारी गरे।
ह्यामस्ट्रिङको समस्याबीच कप्तान बाभुमाले ६६ रनको साहसी पारी खेले भने माक्रमले १३६ रनको उत्कृष्ट शतक बनाए। उनले वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनलमा शतक बनाउने पहिलो दक्षिण अफ्रिकी खेलाडीको कीर्तिमानसमेत बनाए। माक्रम जस हेजलउडको बलमा ६ रन बाँकी रहँदा क्याच आउट भएका थिए।
ट्रिस्टन स्टब्स ८ रनमा आउट भए पनि विकेटकिपर ब्याट्सम्यान केइल वेरेनले मिचेल स्टार्कको बलमा विजयी रन प्रहार गर्दै दक्षिण अफ्रिकालाई जित दिलाए।
यो जितसँगै दक्षिण अफ्रिकाले टेस्ट क्रिकेटमा लर्डसमा दोस्रो उच्च सफल लक्ष्य पछ्याउने कीर्तिमान पनि बनाएको छ। यसअघि दक्षिण अफ्रिकाले १९९८ मा च्याम्पियन्स ट्रफीको रूपमा चिनिएको आईसीसी नक्सा प्रतियोगिता जितेको थियो।
वर्ल्ड टेस्ट च्याम्पियनशिपको इतिहासमा यो दक्षिण अफ्रिकाको पहिलो फाइनल हो, र उनीहरूले पहिलो प्रयासमै उपाधि जितेर इतिहास रचेका छन्। यसअघि पहिलो संस्करणमा न्यूजिल्यान्ड र दोस्रो संस्करणमा अस्ट्रेलियाले उपाधि जितेका थिए।