News Desk
सन्दीप लामिछाने र ललितनरायण राजवंशीले आइसिसीको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा छलाङ मारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सर्वाजनिक गरेको बलिङतर्फको नयाँ वरियतामा लेगस्पीनर सन्दीपले ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिएका छन्।
उनले स्कटल्याण्डमा भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका चार खेलमा ११ विकेट लिएका थिए।
त्यस्तै अर्का स्पिनर ललित २९ स्थान सुधार गर्दै ५४औं स्थानमा उक्लिएका छन्। उनले स्कटल्यान्डको शृंखलामा चार विकेट लिएका थिए।
अलराउन्डतर्फ दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छन्। यसैगरी कुशल भुर्तेल ६ स्थान सुधार गरेर ३२औं स्थानमा पुगेका छन्।
यता ब्याटिङ वरियतामा पनि कुशल भुर्तेल १० स्थान सुधार गर्दै ८३औं स्थानमा उक्लिएका छन्।
यसैगरी कप्तान रोहितकुमार पौडेलको र आसिफ शेखको वरियता खस्किदा दीपेन्द्रसिंह ऐरी भने यथास्थानमा छन्।
रोहित र आसिफ दुई स्थान तल खस्किएर क्रमशः ६६ र ७७औं स्थानमा पुगेका छन्। दीपेन्द्र भने ६१औं स्थानमा कायम छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा आरिफ शेख १३ स्थान सुधार गर्दै ९०औं स्थानमा उक्लिएका छन्।
यता, ओपनर आसिफ शेख ९४ र रोहितकुमार पौडेल ९९औं स्थानमा छन्। आसिफ चार तथा रोहित एक स्थान खस्किएका हुन्।अर्का ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ८७औं स्थानमा पुगेका छन्। नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा १८ तथा एकदिवसीय वरियतामा १७औं स्थानमा यथावत छ।