एएफसी महिला एसियन कप छनोटमा नेपालको ऐतिहासिक जित, कप्तान सावित्राको चार गोल नेपालको १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसमाथि ९–० को विजय
News Desk
Jun-30 , 2025 तारिख 12:35 बेलुका

काठमाडौं |नेपालले एएफसी महिला एसियन कप छनोट अभियानको शुरुवात ऐतिहासिक जितसँगै गरेको छ। आइतबार तासकेन्टस्थित मिल्ली स्टेडियममा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा धमाकेदार प्रवेश गरेको हो।

यो जित नेपाल महिला टिमको १००औं अन्तर्राष्ट्रिय खेलसमेत हो भने एसियन कप छनोटको इतिहासमै नेपालले गरेको यो सर्वाधिक ठूलो जित हो।

कप्तान सावित्राको गोल वर्षा

नयाँ कप्तानको रूपमा मैदानमा उत्रिएकी सावित्रा भण्डारी (साम्बा) ले चार गोल गर्दै टोलीको जितमा शानदार भूमिका निभाइन्। पहिलो हाफमा एक गोल गरेकी सावित्राले दोस्रो हाफमा थप तीन गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ६२ पुर्‍याइन्, त्यो पनि जम्मा ५९ खेलमा।

अनिता बस्नेतले खेलको १२औं मिनेटमा साविता राना मगरको क्रसमा हेडमार्फत गोल गर्दै नेपालका लागि खाता खोलेकी थिइन्। खेलको ४४औं मिनेटमा अनिता केसीको लो क्रसमा सावित्राले गोल गर्दै पहिलो हाफमा नेपाललाई २–० को अग्रता दिलाइन्।

दोस्रो हाफमा गोलको वर्षा

दोस्रो हाफ सुरु भएलगत्तै ४७औं मिनेटमा सरु लिम्बूले गोल गर्दै अग्रता बढाइन्। ५५औं मिनेटमा सावित्राले पुनः गोल गर्दै स्कोर ४–० बनाइन्। त्यसपछि रश्मिकुमारी घिसिङले थप एक गोल गरिन्। ७५औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन् र त्यसको एक मिनेटमै चौथो गोल समेत गरिन्।

८३औं मिनेटमा अनिता केसीले गोल गर्दा खेलको अन्तिम गोल ८८औं मिनेटमा सावित्राको प्रहार डिफ्लेक्ट भएर लाओसकी खेलाडीबाट आत्मघाती गोलको रूपमा आयो।

अन्जिला टुम्बाप्पो सुब्बा बेञ्चमै, सावित्राको कप्तानीमा चम्कियो नेपाल

नेपालकी नियमित कप्तान तथा गोलकिपर अन्जिला टुम्बाप्पो सुब्बालाई प्रशिक्षक प्याट्रिक डी वाइल्डले यस विशेष खेलमा विश्राम दिएका थिए। सावित्राको कप्तानीमा पहिलो खेलमै प्राप्त शानदार जितले टिमको मनोबल उच्च बनाएको छ।

यो जितसँगै नेपाल समूह ‘एफ’ मा ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ। यस समूहमा आयोजक उज्बेकिस्तान र श्रीलंकासमेत रहेका छन्। नेपाल अब बुधबार श्रीलंकासँग खेल्नेछ भने शनिबार आयोजक उज्बेकिस्तानविरुद्ध समूह विजेता टुंग्याउने सम्भावित निर्णायक खेल खेल्नेछ।

समूह ‘एफ’ को विजेता मात्र सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको लागि छनोट हुनेछ।

धेरै पढिएको