चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा
News Desk
Jul-09 , 2025 तारिख 07:43 बिहान

अमेरिका, जुलाई ४ |इंग्लिस क्लब चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई पराजित गर्दै फिफा क्लब विश्वकप २०२५ को फाइनलमा प्रवेश गरेको छ।अमेरिकामा भएको सेमिफाइनल खेलमा जोआओ पेड्रोका दुई शानदार गोलको मद्दतले चेल्सीले २–० को विजय हात पार्‍यो।

पूर्वक्लबविरुद्ध पेड्रोको दोहोरो प्रहार

२३ वर्षीय जोआओ पेड्रोले आफ्नै पूर्वक्लब फ्लुमिनेन्सविरुद्ध निर्णायक प्रदर्शन गरे।१८ औं मिनेटमा पहिलो गोल गरेका पेड्रोले ५६ औं मिनेटमा दोस्रो गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।
उनले एन्जो फर्नान्डिजको पासलाई बायाँबाट ड्रिबल गर्दै उत्कृष्ट फिनिसमा परिणत गरेका थिए।

पेड्रोले तीन महिनाभित्र दोस्रोपटक चेल्सीलाई अन्तर्राष्ट्रिय फाइनलमा पुर्‍याएका छन।गत मे २८ मा युइएफए युरोपा कन्फरेन्स लिगको फाइनलमा चेल्सीले रियल बेटिसलाई ४–१ ले पराजित गरेको थियो।

फ्लुमिनेन्सको उत्कृष्ट यात्रा चेल्सीसँग टुङ्गियो

यसअघिका चरणहरूमा च्याम्पियन्स लिग उपविजेता इन्टर मिलानलाई अन्तिम १६ मा र अल–हिलाललाई क्वाटरफाइनलमा पराजित गरेको फ्लुमिनेन्स सेमिफाइनलमा भने चेल्सीसँग स्तब्ध भयो।

समूह डी बाट फाइनलसम्म

चेल्सी समूह डी बाट दोस्रो स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको थियो।
त्यसपछि उसले बेन्फिकालाई ४–१ ले हरायो र पाल्मेरासलाई २–१ को हार चखाउँदै सेमिफाइनल यात्रा तय गर्‍यो।

फाइनलमा चेल्सीको प्रतिद्वन्द्वी ः रियल मड्रिड वा पिएसजी

अब चेल्सी आइतबार हुने फाइनलमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) मध्ये विजेतासँग उपाधिका लागि भिड्नेछ।
यी दुई क्लबबीचको सेमिफाइनल खेल आज राति हुनेछ, जसले चेल्सीको फाइनलको प्रतिद्वन्द्वी तय गर्नेछ।

चेल्सीको लागि यो युवा खेलाडी पेड्रोको प्रदर्शनले प्रेरित ऐतिहासिक जित बन्यो, अब नजर चेल्सीले विश्व उपाधि जित्न सक्छ कि सक्दैन भन्नेमा रहनेछ।

धेरै पढिएको