News Desk
धनगढी, असार २८ – सरकारले राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया औपचारिक रूपमा पूरा गरेको छ।
परियोजनाका अध्यक्ष सुवास शाहीले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै EIA स्वीकृत भएसँगै अब परियोजना निर्माणका लागि कानुनी तथा प्राविधिक पूर्वाधार पूर्ण भएको जनाएका छन्। रंगशालाको अवधारणा ‘क्रिकेटको सहर’का रूपमा विकास हुँदै आएको धनगढीमा अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधार निर्माण गर्ने दीर्घकालीन लक्ष्यअनुरूप गरिएको हो।
सरकारले विशेष समिति गठन गरेर जिम्मेवारी हस्तान्तरण गरेपछि जग्गा प्राप्ति, विकास समिति गठन, तथा विस्तृत परियोजना प्रतिवेदन (DPR) समेत सम्पन्न भइसकेको छ। अनुमानित २६ अर्ब लागतमा बन्ने खेलग्राममा ५० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला सहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टि स्पोर्ट्स हल, र खेलकुद संग्रहालयजस्ता पूर्वाधार निर्माण गरिनेछ।
EIA पास भएसँगै अब परियोजना स्रोत सुनिश्चित गरी ग्लोबल टेन्डरको प्रक्रियामा अघि बढ्ने तयारी गरिएको शाहीले उल्लेख गरेका छन्। यो परियोजना सुदूरपश्चिमको खेलकुद विकास र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम पूर्वाधार निर्माणको दिशामा ठूलो पाइला मानिएको छ।