पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई ह​रायो
News Desk
Jul-12 , 2025 तारिख 06:24 बिहान

पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ। 

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज भएको खेलमा नेपालले भुटानमाथि ६-१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

नेपालको जितमा पूर्णिमाले चार गोल गरिन भने सेनु परियारले दुई गोल गरिन। यो जितसँगै नेपालले तीन अङ्क बटुलेको छ। यता भुटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन।

खेलको नवौँ मिनेटमा सेनुले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन हुन। खेलको १८औँ मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन। त्यसपछि खेलको ४५औँ मिनेटमा सेनुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन। 

त्योसँगै नेपालले खेलको पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। त्यसैगरी खेलको ५४औँ मिनेटमा भुटानले एक गोल फर्कायो। भुटानका लागि  केल्देनले गोल गरिन। खेलको ६३औँ मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४-० मा पुर्‍याइन। खेलको ८४औँ मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन। 

त्यसपछि खेलको ८८औँ मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६-१ को अवस्थामा ल्याइन। त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथी ६-१ को जित निकाल्यो।

सोही प्रतियोगिताअन्तर्गत आजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९-० को फराकिलो अन्तरले हराउँदै विजयी भएको थियो।

 

धेरै पढिएको