फिफाद्वारा एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ हटाइयो, आर्थिक स्वतन्त्रता पुनः स्थापित
News Desk
Jul-13 , 2025 तारिख 06:07 बिहान

काठमाडौं, असार २९ |अखिल नेपाल फुटबल संघ (एन्फा)माथि फिफाले लगाएको ‘कन्ट्रोल फन्डिङ’ व्यवस्था झन्डै चार वर्षपछि हटाएको छ। सन् २०२१ को मार्च १५ देखि लागू गरिएको यो नियन्त्रण प्रणाली हालैको फिफा गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटीको जुलाई १० मा बसेको बैठकले अन्त्य गर्ने निर्णय गरेको हो।

एन्फाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै फिफाको प्रतिबन्ध हटाइएको जानकारी गराएको छ। योसँगै अब एन्फाले फिफाबाट प्राप्त हुने आर्थिक सहायता तथा अनुदान स्वतन्त्र रूपमा प्रयोग गर्न सक्नेछ।

यसअघि फिफाले ‘कन्ट्रोल फन्डिङ’ मार्फत एन्फाका खर्च तथा आर्थिक क्रियाकलापहरूमा प्रत्यक्ष निगरानी गर्दै आएको थियो।

संघले फिफाको यो निर्णयलाई अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको सुधारमुखी कार्यशैली, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धताको प्रतिफल भएको बताएको छ। एन्फाका अनुसार विगतको अव्यवस्थित लेखा प्रणालीलाई सुधार गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार लेखा प्रणाली विकास गरिएको हो।

एन्फामाथिको प्रतिबन्ध हटिनु अघि नै एसियाली फुटबल महासंघ (एएफसी)ले संघलाई ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर २०२४’ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्रदान गरिसकेको थियो।

संघले विगतमा आफूमाथि लागेका आरोप, पूर्वाग्रह र आलोचनालाई काममार्फत जवाफ दिएको दाबी गरेको छ। फिफाको निर्णयसँगै नेपाली फुटबल व्यवस्थापनले नयाँ विश्वास र अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको संघको ठहर छ।

धेरै पढिएको