चेल्सीले जित्यो पहिलोपटक आयोजित फिफा क्लब विश्वकपको उपाधि
News Desk
Jul-14 , 2025 तारिख 12:23 बेलुका

चेल्सीले नयाँ ढाँचामा पहिलोपटक आयोजित फिफा क्लब विश्वकपको उपाधि जित्दै आफ्नो अन्तर्राष्ट्रिय सफलताको सूचीमा थप उपलब्धि जोडेको छ। अमेरिकी मेटलाइफ स्टेडियममा ८१ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न फाइनल खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले युरोपियन च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई ३–० ले पराजित गर्दै उपाधि उचालेको हो। खेलको शुरुवातदेखि नै आक्रामक देखिएको चेल्सीको जितमा कोल पाल्मर निर्णायक साबित भए।

२२औं मिनेटमा पाल्मरले मालो गुस्टोको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। गुस्टोले पास उपलब्ध गराउनुअघि पीएसजीका फुलब्याक नुनो मेन्डेसको गल्तीले अवसर निर्माण भएको थियो। त्यसपछि ३०औं मिनेटमा पाल्मरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यतिर, ४३औं मिनेटमा जोवाओ पेड्रोले तेस्रो गोल थपेपछि चेल्सीको जित लगभग सुनिश्चित बन्यो।

दोस्रो हाफमा चेल्सीले गोल गर्ने प्रयास नगरे पनि पीएसजी कुनै पनि अवस्थामा खेलमा फर्कन सकेन। ८५औं मिनेटमा पीएसजीका जोवाओ नेभेसले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। उपाधिका लागि फेभरिट मानिएको लुइस इनरिकेको टोलीले केही राम्रा अवसरहरू पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा निराशजनक हार बेहोर्नुपर्‍यो।

यस सिजन चेल्सीले युरोपा कन्फरेन्स लिग जितेको थियो भने पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो। यद्यपि, क्लब विश्वकपमा चेल्सीले पूर्ण रूपमा दबदबा देखायो। कोल पाल्मरले सिजनमा ५२ खेलमा १८ गोल र १४ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे।

चेल्सीले प्रतियोगितामा कुल १७ गोल गर्दै सर्वाधिक गोलकर्ता टोली बन्न सफल भयो, जबकि म्यानचेस्टर सिटी र बायर्न म्युनिखले १६–१६ गोल गरेका थिए। यसपटक कोल पाल्मर, हेरी केन र फिल फोडन गरी तीन इङ्लिस खेलाडीले प्रतियोगितामा गोल गरे। विशेष कुरा के थियो भने, फाइनल खेल हेर्न पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि उपस्थिति रहेको थियो।

यसअघि सन् २०२१ मा पनि क्लब विश्वकप जितेको चेल्सीले फेरि एकपटक विश्व फुटबलमा आफ्नो प्रभुत्व प्रदर्शन गरेको छ। पीएसजीको स्टार खेलाडीहरूले भरिएको टोली चेल्सीको रणनीति र आक्रामक खेल शैलीको सामना गर्न असमर्थ देखियो, जसले गर्दा फाइनल एकतर्फी बन्दै गयो। चेल्सीका लागि यो जित नयाँ सिजनको लागि उत्साह र आत्मविश्वासको आधार बन्नेछ।

धेरै पढिएको