News Desk
बर्न, साउन ३ |यूएफा महिला युरोकप २०२५ मा उत्कृष्ट प्रदर्शन जारी राख्दै विश्वकप विजेता स्पेनले सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ। शुक्रबार राति बर्नस्थित वान्कडोर्फ स्टेडियममा भएको खेलमा घरेलु टोली स्विट्जरल्यान्डलाई २–० गोल अन्तरले हराउँदै स्पेनले सन् १९९७ पछि पहिलोपटक युरोकपको अन्तिम चारमा स्थान बनाएको हो।
खेलको पहिलो हाफमा स्विस डिफेन्ससँग जुझ्न बाध्य भएको स्पेनले सुरुआतमै पाएको पेनाल्टी अवसर गुमाएको थियो। तर दोस्रो हाफमा मैदान प्रवेश गरेकी कास्टिलोले खेल सुरु भएको तीन मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि, ७१औं मिनेटमा पिनाले लिएको उत्कृष्ट कर्लिङ शटले स्पेनको जीत सुनिश्चित गर्यो।
स्विट्जरल्यान्डले पनि दोस्रो हाफमा पेनाल्टीमार्फत फर्कने प्रयास गरे तापनि त्यो सफल हुन सकेन। खेलको अन्त्यतिर नोएल म्यारिट्जलाई रातो कार्ड देखाइएपछि स्विस टोली १० खेलाडीमा सिमित हुन पुग्यो।
यद्यपि पराजित भए पनि स्विट्जरल्यान्डले स्पेनलाई हालसम्मको सबैभन्दा कडा प्रतिस्पर्धा दिएको थियो। पहिलोपटक क्वार्टरफाइनलमा पुगेको स्विस टोलीले घरेलु मैदानमा २९,८०० समर्थकको उत्साहजनक साथ पाएको थियो।
अब स्पेनले सेमिफाइनलमा फ्रान्स र जर्मनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त क्वार्टरफाइनल खेल शनिबार हुने तालिका रहेको छ।