‘साम्बा’ गाउँमै सम्मानित, ‘साम्बा चोक’ घोषणाबारे चर्चा
News Desk
Jul-25 , 2025 तारिख 12:41 बेलुका

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) आफ्नो गृहपालिका मर्स्याङ्दी गाउँपालिका ८, भुलभुलेमा आयोजित एक कार्यक्रममार्फत विशेष सम्मानमा भएसँगै पुनः चर्चामा आएकी छन्। बिहीबार आयोजित ‘सम्मान तथा अन्तरक्रिया कार्यक्रम’मा मर्स्याङ्दी गाउँपालिकाले उनलाई दोसल्ला ओढाई सम्मान गरेको हो।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सम्मान गर्दै साम्बा जस्तै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। साम्बाले आफूलाई जन्माएको ठाउँबाट पाएको यो सम्मानले थप प्रेरणा मिलेको प्रतिक्रिया दिइन्। उनले यस्ता सम्मानले अझ सशक्त र निरन्तर प्रदर्शन गर्न उत्साह दिने बताइन्।

सावित्राको योगदानलाई सम्झदै गाउँपालिकाले मर्स्याङ्दी गाउँपालिका ९ स्थित खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा चोक’ नामकरणसमेत गरिसकेको छ। नेपाली महिला फुटबलमा ‘साम्बा’ उपनामले पहिचान बनाएकी भण्डारीले अबको दुई सिजन न्यूजील्याण्डको वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्ट्रेलिया र न्युजिल्याण्डमा हुने निन्जा ए लिग खेल्ने छिन्।

यसअघि सावित्रा फ्रान्सको चर्चित क्लब एन अभेन्ट गुइनगाम्पमा अनुबन्धित थिइन्। देशको गौरव बनेकी सावित्रा भण्डारीको अन्तर्राष्ट्रिय यात्रा र स्थानीय सम्मान दुवै नेपाली फुटबलको लागि प्रेरणादायी बनेका छन्।

धेरै पढिएको