महिला युरो कप २०२५ को उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड आमनेसामने
News Desk
Jul-27 , 2025 तारिख 12:02 बेलुका

महिला युरोपियन फुटबल च्याम्पियनसिप २०२५ अन्तर्गतको फाइनल खेल आज नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुँदैछ। प्रतियोगिताको यो निर्णायक भिडन्त स्विट्जरल्यान्डको सबैभन्दा ठूलो रंगशाला सेन्ट ज्याकोब पार्क, बासेलमा आयोजना हुनेछ।

स्पेन र इङ्ल्यान्डबीच पछिल्ला दुई वर्षमा यो दोस्रोपटक ठूला प्रतियोगिताको फाइनल भिडन्त हो। सन् २०२३ को महिला विश्वकपको फाइनलमा यी दुई टिम आमनेसामने हुँदा स्पेन १–० ले विजयी हुँदै विश्व च्याम्पियन बनेको थियो। आजको खेल इङ्ल्यान्डका लागि युरोको उपाधि रक्षा गर्ने मात्र नभई, त्यही हारको बदला फिर्ता लिने अवसर पनि हो।

फाइनलसम्मको यात्रा दुवै टोलीका लागि सजिलो भने रहन सकेन। सेमिफाइनलमा इङ्ल्यान्डले एक गोलले पछि परेको अवस्था उल्टाउँदै इटालीलाई २–१ ले हरायो। उक्त खेलमा दुई सुपर–सब खेलाडीले निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याएका थिए। उता, स्पेनले दुई पटकको युरोपेली च्याम्पियन जर्मनीलाई १–० ले हरायो, जहाँ आइताना बोनमतीले अतिरिक्त समयको ११३औँ मिनेटमा निर्णायक गोल गरिन्।

पछिल्ला वर्षहरूमा स्पेनको महिला फुटबलले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। विश्वकप मात्र होइन, महिला नेसन्स लिगको उपाधि पनि हात पारिसकेको स्पेन यस युरोको सबैभन्दा बलियो दावेदारको रूपमा हेरिएको छ। यही कारण आजको खेलमा पनि उसले बढि आत्मविश्वाससाथ मैदान उत्रनेछ।

स्पेन र इङ्ल्यान्डबीचको अघिल्लो युरोकप इतिहास हेर्दा, यो चौथो भेट हो। २०१३ मा स्पेनले ३–२ ले जितेको थियो भने २०१७ मा इंग्ल्यान्डले २–० ले स्पेनलाई हरायो। पछिल्लो युरोमा क्वार्टरफाइनलमा इंग्ल्यान्डले फेरि २–१ को जित निकालेको थियो। विश्वकपपछिका दुई मैत्रीपुर्ण खेलमा दुवै टोलीले एक–एक जित हात पारेका छन्।

दुवै टिमका अधिकांश खेलाडी क्लबस्तरमा एकअर्काविरुद्ध नियमित रूपमा खेल्ने भएकाले उनीहरू एक–अर्काको रणनीति, शैली र क्षमतासँग परिचित छन्। यसले खेललाई थप प्रतिस्पर्धात्मक बनाउने निश्चित छ।

फिफा वरीयतामा स्पेन दोस्रो स्थानमा छ भने इङ्ल्यान्ड पाँचौं स्थानमा। अहिलेसम्म यी दुईबीच १४ पटक भिडन्त हुँदा इङ्ल्यान्डले ७ खेल जितेको छ भने स्पेनले ४ खेलमा जित हात पारेको छ, बाँकी ३ खेल बराबरीमा टुंगिएका छन्। तर फाइनल खेल भएकाले आज बराबरीले नतिजा निस्कने छैन—एकले जित्नैपर्नेछ।

फाइनल विजेता टोलीले सन् २०२५ को "फाइनलिसिमा" खेल्नेछ, जहाँ यूरोपियन च्याम्पियन र दक्षिण अमेरिकी च्याम्पियनबीच ऐतिहासिक भिडन्त हुनेछ। पछिल्लो संस्करणमा इंग्ल्यान्डले ब्राजिललाई हराउँदै उपाधि जितेको थियो।

यसैबीच महिला कोपा अमेरिका प्रतियोगिता पनि अन्तिम चरणमा पुगेको छ। सेमिफाइनल चरण सकिएको छ, जहाँ अर्जेन्टिना र ब्राजिलले फाइनल यात्रा गर्न दुई छुट्टाछुट्टै खेल खेल्ने छन्। अर्जेन्टिना मंगलबार कोलम्बियासँग तथा ब्राजिल बुधबार बिहान उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। विजेता टोलीले आइतबार फाइनल खेल्नेछ भने पराजित टोलीहरू शनिबार तेस्रो स्थानका लागि भिड्नेछन्।

 

धेरै पढिएको