गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य ढिलो, १० करोडभन्दा बढी बजेट फिर्ता
News Desk
Aug-01 , 2025 तारिख 11:58 बिहान

चितवन | भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुस्त गतिमा अघि बढिरहेको छ, जसका कारण १० करोड रुपैयाँभन्दा बढी रकम फ्रिज भएर सरकारतर्फ फिर्ता जानुपरेको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभाव देखाउँदै निर्माण कार्य रोकिएपछि भरतपुर महानगरपालिकाले परियोजनालाई अघि बढाउने जिम्मा लिएको थियो। यसै क्रममा गत वर्ष असार २३ गते महानगर र ‘हिमालयन कालिञ्चोक बीबीआर जेभी’ निर्माण कम्पनीबीच सम्झौता भई भदौ महिनाबाट निर्माण पुनः शुरू गरिएको थियो।

शुरूका केही महिनामा अपेक्षाकृत प्रगति भए पनि पछिल्ला महिनाहरूमा काममा उल्लेखनीय ढिलाइ देखिएको छ। प्यारापिटको सोलिङ तथा दुईवटा भीआइपी टावरको काम एकैसाथ अघि बढाइए पनि हालसम्म पहिलो टावरको पहिलो तलाको मात्र ढलान सम्पन्न भएको छ। दोस्रो टावरको पहिलो तला अझै ढलान हुन बाँकी छ।

प्यारापिटतर्फ पनि प्रगति सन्तोषजनक छैन। पहिलो प्यारापिटको ढलान सकिए पनि दोस्रो प्यारापिटको पहिलो ब्लक मात्र पूर्ण भएको छ। बाँकी दुई ब्लकमा रड जडानको काम भइरहेको छ। साथै, ड्रेनेज प्रणालीमा ढकन राख्ने कार्य अझै अपूरो छ।

परियोजनाको ४० प्रतिशत काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म जम्मा २७ प्रतिशत मात्र काम सम्पन्न भएको भरतपुर महानगरका प्राविधिक विवरणले देखाउँछन्। मैदान निर्माणतर्फ भने अहिलेसम्म कुनै पनि कार्य अघि बढेको छैन।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण संघीय सरकारबाट विनियोजन गरिएको २५ करोडमध्ये करिब १७ करोड ६५ लाख मात्र खर्च हुन सक्यो। यस्तै, बागमती प्रदेश सरकारले छुट्याएको १० करोडमध्ये ६ करोड ८० लाख मात्र खर्च भयो। बाँकी रकम फिर्ता जान बाध्य भयो।

संघीय सरकारले यो रंगशालालाई 'गौरवको आयोजना'मा राखेको छ। लागत साझेदारीअनुसार बागमती प्रदेशले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको छ। सम्झौता अनुसार ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ लागतमा ३० महिनाभित्र १५ हजार दर्शक क्षमता भएको प्यारापिट, दुईवटा तीनतले भीआइपी टावर र खेल मैदान निर्माण कार्य सम्पन्न हुनुपर्नेछ।

तर हालको प्रगतिलाई हेर्दा तोकिएको समयसीमामा निर्माण सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ।

 

धेरै पढिएको