News Desk
नेपालका एमएमए (मिक्स्ड मार्शल आर्ट्स) खेलाडी रविन्द्र ढाँटले भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ (MFN-17) को उपाधि जित्दै इतिहास रचेका छन्। भारतको नोएडामा सम्पन्न उक्त प्रतियोगितामा भारतका टाइटल होल्डर चुनरेङ कोरेनलाई पराजित गर्दै उनी बान्टमवेट च्याम्पियन बन्न सफल भएका हुन्।
राति सम्पन्न फाइनल भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई पराजित गर्दै च्याम्पियनको उपाधि जिते। यस जितसँगै ढाँटको व्यावसायिक एमएमए रेकर्ड ८ जित र १ हारमा पुगेको छ। साथसाथै, उनले कोरेनको लगातार ५ खेलको जितको श्रृंखला पनि तोडेका छन्।
बझाङका ढाँट यस प्रतिष्ठित उपाधि जित्ने पहिला नेपाली खेलाडी बनेका छन्। उनले आफ्नो यो सफलता नेपाली एमएमएका अगुवा, प्रशिक्षक तथा नेपाल वारियर्स च्याम्पियनसिप (NWC) का संस्थापक दिविज पिया लामालाई समर्पण गरेका छन्। ढाँटको प्रतिभा पहिचान गरी दिविजले व्यक्तिगत खर्चमा प्रशिक्षणदेखि तयारीसम्म साथ दिएका थिए।
रविन्द्र ढाँटको यो कीर्तिमानी जितले राष्ट्रिय स्तरमै चर्चा बटुलेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएका छन्। ओलीले लेखेका छन्,
"भारतका चुनरेङ कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।"
यो जितसँगै नेपाली एमएमए खेलमा रविन्द्र ढाँटले नयाँ अध्यायको सुरुवात गरेका छन्।