एनपीएल २०२५: मिनी अक्सनमा ४ खेलाडी १५ लाखमा बिके, आदिल आलमका लागि सबै टिमको बोली
News Desk
Aug-10 , 2025 तारिख 12:40 बेलुका

काठमाडौं  | नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणका लागि सम्पन्न मिनी अक्सनमा ४ खेलाडी उच्चतम १५ लाख रूपैयाँमा अनुबन्धित भएका छन्। ‘ए’ श्रेणीमा सूचीकृत मोहम्मद आदिल आलमका लागि सबै आठवटै टोलीले बोली लगाएपछि उनले लक्की ड्रमार्फत काठमाडौं गोर्खाजको जर्सी पाउने मौका पाए।

आदिलसँगै पवन सर्राफ (कर्णाली याक्स), देव खनाल (चितवन राइनोज) र अर्जुन साउद (चितवन राइनोज) पनि १५ लाख रुपैयाँमै अनुबन्धित भएका हुन्। यिनको लागि एकभन्दा बढी टोलीले समान रकममा बोली लगाएपछि गन्तव्य टुंगो लगाउन लक्की ड्रको सहायता लिइएको थियो।

क्रिकेट फ्रेन्चाइज लिगको विशेषता मानिने अक्सन (बोलकबोल) प्रणालीअनुसार आठवटै टिमले घरेलु खेलाडीको कोटा पूरा गर्न ३७ खेलाडी अनुबन्ध गरेका छन्। अधिकांश टिमले पहिलो संस्करणमा ५–६ खेलाडी रिटेन गरिसकेका कारण यसपटकको अक्सन मिनी अक्सन भएको हो।

क्यानले यसपालि 'ए' श्रेणीमा ८, 'बी' मा ३५ र 'सी' मा १०७ खेलाडी सूचीबद्ध गरेको थियो।

  • ‘ए’ श्रेणीको बेस प्राइस १० लाख,

  • ‘बी’ को ५ देखि १० लाख,

  • ‘सी’ को २ देखि ५ लाख रूपैयाँ तोकिएको थियो।

विस लिस्टबाट टिम पूर्ति

अक्सनको पहिलो चरणपछि बाँकी खेलाडीहरूको सूचिबाट टिम पूर्ति गर्न ‘विस लिस्ट’को सुविधा दिइएको थियो।
काठमाडौँ र कर्णालीले अक्सनमै टिम पूरा गरे भने बाँकी ६ टोलीले विस लिस्टमार्फत खेलाडी थपे।
चितवनले विपिन रावल, विपिन आचार्य र रञ्जित कुमारलाई लिएको छ भने विराटनगरले श्रवण किस्कु र शङ्कर रानालाई टिममा भित्र्यायो। अन्य टिमहरूमा पनि विस लिस्टका खेलाडी थपिएका छन्।

अक्सन खर्च र टिम संरचना

प्रत्येक टिमलाई नेपाली खेलाडी अनुबन्धनका लागि ९० लाख रूपैयाँको सीमासम्म खर्च गर्न अनुमति दिइएको छ। अधिकांश टिमले आधाभन्दा बढी बजेट रिटेनमा खर्च गरिसकेका छन्। विदेशी खेलाडीका लागि भने बजेटमा कुनै सीमा छैन, र टिमहरूले अझै पाँच विदेशी खेलाडी सम्म अनुबन्ध गर्न सक्छन्।

एनपीएलको नियम अनुसार प्रत्येक टिममा १७ खेलाडी रहनेछ – जसमा १ मार्की प्लेयर, १ आइकोनिक स्थानीय खेलाडी, १० अक्सनबाट छनोट गरिएका र ५ विदेशी खेलाडी रहने व्यवस्था गरिएको छ।

प्रतियोगिताको मिति र पुरस्कार राशिको घोषणा भने हालसम्म गरिएको छैन।


अक्सनमा बिकेका प्रमुख खेलाडीहरू

काठमाण्डू गोर्खाज

  • आदिल आलम – १५ लाख

  • सन्तोष यादव – १० लाख

  • आकास त्रिपाठी – ७ लाख

  • उत्तम थापा मगर – ३ लाख

  • तुलबहादुर थापा – २ लाख

चितवन राइनोज

  • देव खनाल – १५ लाख

  • अर्जुन साउद – १५ लाख

  • विपिन रावल – ५ लाख

  • विपिन आचार्य – २ लाख

  • रञ्जित कुमार – २ लाख

लुम्बिनी लायन्स

  • दिलीप नाथ – १० लाख

  • शेर मल्ल – १० लाख

  • दुर्गेस गुप्ता – ५ लाख

  • विशाल पटेल – ५ लाख

  • आदिल खान – २ लाख

कर्णाली याक्स

  • पवन सर्राफ – १५ लाख

  • युवराज खत्री – १० लाख

  • इमरान शेख – २ लाख

  • दीपक डुम्रे – २ लाख

विराटनगर किङ्स

  • सूर्य तामाङ – १० लाख

  • साहिल पटेल – ५ लाख

  • नारायण जोशी – ५ लाख

  • शंकर राना – ५ लाख

  • श्रवण किस्कु – २ लाख

पोखरा एभेन्जर्स

  • अर्जुन कुमाल – ५ लाख

  • अभिषेक तिवारी – २ लाख

  • कृष्ण पौडेल – २ लाख

  • सन्दीप क्षेत्री – २ लाख

जनकपुर बोल्ट्स

  • मयन यादव – ७.७५ लाख

  • विकास आग्री – ५ लाख

  • आदित्य मेहता – ५ लाख

  • सचिन भट्ट – २ लाख

सुदूरपश्चिम रोयल्स

  • हेमन्त धामी – १० लाख

  • दीपक बोहरा – ५ लाख

  • मिलन बोहरा – ५ लाख

  • टेकबहादुर रावत – २ लाख

  • दीपेन्द्र थापा – २ लाख

 

धेरै पढिएको