नेपालले ताजकिस्तानसँग ४–० ले पराजित
News Desk
Sep-04 , 2025 तारिख 07:01 बिहान

नेपाल बुधबार दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न समूह ‘के’को आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ताजकिस्तानसँग ४–० को पराजय बेहोर्यो । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा पराजित भएको हो । ताजकिस्तानका लागि फरवार्ड अजिजबोएभ मुहम्मादालीले दुई तथा रक्षक रहमात्शोह रमात्जोदा र मिडफिल्डर देलर शारिपोभले समान एक गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता लिएको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थपेको हो ।

सुरुआती दुई गोल मिडफिल्डर आमादोनी कामोलोभको ‘असिस्ट’मा सम्भव भएका हुन । निर्धारित हाफ सकिन ६ मिनेट बाँकी रहेको अवस्थामा मुहम्मादालीले टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए। 

करिब साढे चार हजार समर्थकको उपस्थिति रहेको खेलको ५८औं मिनेटमा पनि मुहम्मादालीले कामोलोभको अर्को कटब्याकलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे। अग्लो कदको फाइदा उठाएका मुहम्मादालीलाई राइट ब्याक राम थापाले निगारानीमा राखेका थिए। तर, राम यसमा सफल हुन सकेनन।

निर्धारित समयको अन्तिम मिनेटमा मिडफिल्डर रुस्लान खइलोएभको ब्याकपासमा रमात्जोदाले पेनाल्टी बक्सको लाइनबाट अर्को गोल गरे।

वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका रमात्जोदाको राइट फुटेड शक्तिशाली प्रहारले पहिलो बारको जाली चुमेको थियो। थप गरिएको इन्जुरी समयमा अर्का वैकल्पिक खेलाडी शारिपोभले अग्रतालाई चार गोलमा पुर्‍याए। 

फ्लडलाइटमा समस्या भएपछि निर्धारित समयको अन्त्यतिर खेल केही बेर रोकिएको थियो। जतिबेला नेपाल २ गोलले पछाडि थियो । खेल पुनः सुचारु भएपछि नेपालले आफ्नो नियन्त्रण र लय दुबै गुमाएको थियो । जसको फाइदा ताजकिस्तानका खेलाडीले लिए।

बुधबार सम्पन्न दिनको पहिलो खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्यो। नेपालले अब शनिबार आफ्नो दोस्रो खेलमा सिरियासँग प्रतिस्पर्धा गर्नेछ। सिरियासँग पराजित भए नेपालको एसियन कप पुग्ने चुनौती समाप्त हुनेछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ।

 

धेरै पढिएको