News Desk
दुबईमा गएराति सम्पन्न एशिया कप क्रिकेट खेलमा भारतले पाकिस्तानलाई सहजै पराजित गरेको छ। १२८ रनको सामान्य लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमै तीन विकेटको क्षतिमा जित दर्ता गर्यो।
भारतीय कप्तान सूर्यकुमार यादवले अविजित ४७ रनको योगदान दिए भने तिलक वर्मा र अभिषेक शर्माले समान ३१–३१ रन जोडे। शुभमन गिल र शिभम दुबेको खातामा १०–१० रन रह्यो। पाकिस्तानतर्फ सैयब आयुबले तीन विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। शाहीबजादा हारिसले सर्वाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदी ३३ रनमा अविजित रहे। फकर जमानले १७ र फहीम अशरफले ११ रन जोडे।
भारतीय बलिङमा कुलदीप यादव उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। जसप्रित बुमराह र अक्षर पटेलले दुई–दुई विकेट झारे।
यस जितसँगै भारतले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको छ भने पाकिस्तानले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ। प्रतियोगिताअन्तर्गत आज युएईले ओमानसँग र श्रीलङ्काले हङकङसँग भिड्नेछन्।