News Desk
एसिया कपमा पाकिस्तान बाहिरिएको भन्ने हल्ला बीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले टोली अझै प्रतियोगितामा रहेको स्पष्ट पारेको छ। पीसीबीका प्रवक्ता आमिर मिरका अनुसार बुधबारका लागि तय भएको पाकिस्तान र युएईबीचको खेल तोकिएको समयमा सुरु नहुने भए पनि खेल स्थगित मात्र भएको हो।
निर्धारित समयमा पाकिस्तानी टोली रंगशाला नपुगेपछि विभिन्न अन्तर्राष्ट्रिय मिडियाले पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको दाबी गरेका थिए। तर, वास्तविकता भने ढिलो सुरुवातको मात्र रहेको जनाइएको छ।
पाकिस्तानले यसअघि खेलिएका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार व्यहोरेको छ। गत आइतबार भारतविरुद्ध सात रनले पराजित भएपछि पाकिस्तानी टोली विवादमा तानिएको थियो। खेलपछिको क्षणमा भारतीय खेलाडीहरूले हात मिलाउन अस्वीकार गरेको भन्ने विषयले धेरै चर्चा पाएको थियो।
पाकिस्तानी पक्षले टसका समयमा दुवै कप्तान मैदानमा आएपछि रेफ्री एन्डी पाइक्राफ्टले हात नमिलाउन निर्देशन दिएको आरोपसमेत लगाएको छ। यस विषयमा पाकिस्तानले आईसीसीमा औपचारिक गुनासो दर्ता गर्दै यदि रेफ्रीलाई हटाइएन भने युएईविरुद्धको खेलबाट बाहिरिने चेतावनीसमेत दिएको थियो।
भारत–पाकिस्तानबीचको हालैको सैन्य द्वन्द्व र पहलगाम आक्रमणपछि पहिलो पटक दुबै टोली मैदानमा भिडेका कारण यो खेल राजनीतिक र कूटनीतिक दृष्टिले पनि निकै चर्चित बनेको छ।