लिभरपुलले निकाल्यो लगातार पाँचौं जितको न​तिजा
News Desk
Sep-21 , 2025 तारिख 06:43 बिहान

लिग शीर्षस्थानमा रहेको लिभरपुलले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गतको मर्सिसाइड डर्बीमा एभर्टनलाई २–१ ले हराउँदै रोमाञ्चक जित हात पारेको छ।

यससँगै लिभरपुलले लगातार पाँचौं जित दर्ता गर्दै पाँच खेलमै १५ अंक जोडेको छ भने पराजित एभर्टन सात अंकसहित तालिकाको नवौं स्थानमा झरेको छ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि रायन ग्रेभेनबर्च र ह्युगो एकिटिकेले गोल गरे भने एभर्टनतर्फबाट इड्रिस्सा गुइएले मात्र एक गोल फर्काए।

खेलको १०औं मिनेटमै मोहम्मद सलाहको पासलाई सदुपयोग गर्दै ग्रेभेनबर्चले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। १९औं मिनेटमा एकिटिकेले ग्रेभेनबर्चकै सहयोगमा अर्को गोल थप्दै अग्रता २–० बनाए। तर, ५८औं मिनेटमा इलिमान नडियायेको पासमा गुइएले गरेको गोल एभर्टनका लागि सान्त्वना मात्र रह्यो।

यता, गएराति सम्पन्न अन्य खेलमा म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २–१ ले पराजित गर्‍यो भने फुलह्यामले बेनफर्डलाई ३–१ गोलअन्तरले हरायो।

धेरै पढिएको