भारत फाइनलमा प्रवेश, बंगलादेश ४१ रनले पराजित
News Desk
Sep-25 , 2025 तारिख 12:40 बेलुका

दुबई | एसीसी टी-२० एसिया कपको सुपर फोरमा भारतले बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १ सय २७ रनमै समेटियो। ओपनर सैफ हसनले ५१ बलमा ३ चौका र ५ छक्कासहित ६९ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्। प्रभेज हसन इटन २१ रनमा योगदान गर्दै दोहोरो अंकमा पुग्ने एक्ला खेलाडी बने।

भारतका बलरमध्ये कुलदीप यादव सर्वाधिक प्रभावशाली रहे। उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका छन्। बरुण चक्रवर्ती र जस्प्रित बुमराहले समान २–२ विकेट हात पारे भने तिलक वर्मा र अक्षर पटेलले १–१ विकेट जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। ओपनर अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै ३७ बलमा ६ चौका र ५ छक्कासहित ७५ रन प्रहार गरे। शुभमन गिलसँगै उनले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाए।

कप्तान सूर्यकुमार यादव र तिलक वर्मा मात्र ५–५ रनमै आउट भए भने हार्दिक पान्ड्याले २९ बलमा ३८ रन जोडे। अक्षर पटेल १५ बलमा १० रनमा अविजित रहे।

बंगलादेशका रिसाद हसनले २ विकेट लिन सफल भए भने तान्जिम हसन साकिब, मुश्ताफिजुर रहमान र मोहम्मद सैफुद्दीनले १–१ विकेट लिए।

यसअघि सुपर फोरमा भारतले पाकिस्तानलाई हराइसकेको छ भने बंगलादेशले श्रीलंकामाथि विजय हात पारेको थियो। आज पाकिस्तान र बंगलादेशबीच हुने खेलले अर्को सेमी–फाइनलिस्ट टुंग्याउनेछ। भारतले अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ। श्रीलंका भने फाइनल दौडबाट बाहिरिएको छ।

 

धेरै पढिएको