News Desk
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी नवीन न्यौपानेलाई दिइएको छ। बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा उनलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरे।
घरेलु फुटबलका चर्चित प्रशिक्षक न्यौपाने हालै उज्बेकिस्तानमा सम्पन्न एएफसी यू–२३ एसियन कप छनोटमा नेपाली युवा टोलीको नेतृत्व गरेका थिए। सो प्रतियोगिता सकिएको दुई सातापछि उनलाई महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मा दिइएको हो।
यसअघि महिला टोलीका मुख्य प्रशिक्षक बेल्जियन प्याट्रिक डि वाइल्डले राजीनामा दिएपछि टोली करिब दुई महिनायता प्रशिक्षकविहीन थियो। वाइल्डले उज्बेकिस्तानमै सम्पन्न एएफसी एसियन कप छनोटमा टोलीलाई नेतृत्व दिएका थिए।
न्यौपानेसँगै एन्फाले सहायक प्रशिक्षकका रूपमा भगवती थापा र राजकुमार केसीलाई जिम्मेवारी दिएको छ। टिम म्यानेजरमा विन्द्रा देवान, फिजियोथेरापिस्टका रूपमा शिला गिरीलाई निरन्तरता दिइएको छ भने किट म्यानेजरको जिम्मा विकास गुरुङलाई प्रदान गरिएको छ।