युनिटी कपमा नेपालको ऐतिहासिक जित : वेस्ट इन्डिजलाई १९ रनले पराजित
News Desk
Sep-28 , 2025 तारिख 06:13 बिहान

यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति सम्पन्न युनिटी कप टी–२० सिरिजको पहिलो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ। नेपालले २ पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त टिम वेस्ट इन्डिजलाई १९ रनले हराउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेको हो। यो जितसँगै नेपालले पहिलो पटक कुनै टेस्ट टिमलाई पराजित गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमा सीमित रह्यो। अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि २८ रन आवश्यक थियो। अन्तिम ओभर बलिङ गर्न आएका नेपालका उत्कृष्ट अालराउण्डर दिपेन्द्र सिंह ऐरीले दबाबपूर्ण समयमा शान्त खेल प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई रोक्न सफल भए।

ऐरीले पहिलो बल डट गरे, दोस्रो र तेस्रो बलमा चौका प्रहार भए पनि त्यसपछि लगातार दुई बल डट गराउँदै विपक्षी ब्याटरमाथि दबाब कायम राखे। अन्तिम बलमा वेस्ट इन्डिजले ठूलो प्रहार गर्ने प्रयास गरे पनि बाउन्ड्री लाइनमा कुशल भुर्तेलले अद्भुत क्याच लिएर नेपालको जित सुनिश्चित गरे।

नेपालका लागि कप्तान रोहित पौडेलले शान्त र जिम्मेवार ब्याटिङ गर्दै सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनरहरू कुशल भुर्तेल र आसिफ शेख सस्तैमा आउट भएपछि मध्यक्रममा रोहित र कुशल मल्लले महत्त्वपूर्ण साझेदारी गरे। दुबै मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै टिमलाई सशक्त अवस्थामा पुर्‍याए। कुशल मल्लले ३० रन बनाए भने गुल्सन झाले २२ रन र दिपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए। अन्तिमतिर सोमपाल कामी (६ रन) र नन्दन यादव (७ रन) अविजित रहेर टिमलाई १४८ रनसम्म पुर्‍याए।

बलिङतर्फ वेस्ट इन्डिजका स्टार अालराउण्डर जेसन होल्डरले ४ विकेट लिए भने डेब्युट खेलिरहेका नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट झारे।

जवाफी ब्याटिङमा वेस्ट इन्डिजको सुरुवात अपेक्षाकृत राम्रो भएन। पावरप्लेमा नै दुई विकेट गुमाउँदै ४० रनमा सीमित रह्यो। १० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सकेको वेस्ट इन्डिजलाई नेपालका बलरहरूले लगातार दबाबमा राखे।

वेस्ट इन्डिजका लागि डेब्युट ब्याटर नवीन विदेशीले सर्वाधिक २२ रन बनाए। उनले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे तर हिट विकेट भएर आउट भए। ओपनर अमिर जाङ्गो १९ रन, अकिम अगष्टे १५ रन र केएसी कार्थी १६ रनमा सीमित रहे। कप्तान अकेल होसेनले ८ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन।

नेपालका बलरहरूले अनुशासित बलिङ प्रदर्शन गरे। लेग स्पिनर सन्दीप लामिछाने खेलको दोस्रो इनिङ्सको पाँचौँ ओभरमा बलिङ गर्दा लोअर ब्याकमा समस्या आएर केही समय मैदान बाहिर गए। उपचारपछि फर्किएर उनले ४।५ ओभर बलिङ गर्दै महत्त्वपूर्ण विकेट लिएका तर त्यसपछि फेरि मैदान छाड्नु पर्‍यो। उनको अनुपस्थितिमा लोकेश बमले फिल्डिङमा साथ दिए।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए भने नन्दन यादव, कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए। नेपालले कडा फिल्डिङ प्रदर्शन गर्दै विपक्षी ब्याटरहरूलाई रन बनाउन सहज अवसर दिएन।

यो जित नेपाल क्रिकेट इतिहासकै ठूलो उपलब्धि मानिएको छ। सन् २०१४ मा टी–२० विश्वकपमा भाग लिएदेखि नेपाल लगातार उदीयमान टिमको रूपमा चिनिँदै आएको छ। वेस्ट इन्डिजजस्तो दुई पटकको विश्वकप च्याम्पियन र टेस्ट राष्ट्रलाई हराउनु नेपाल क्रिकेटको स्तर उकासिएको प्रमाण हो।

सिरिजमा ३ खेल हुने तय भएको छ। पहिलो खेल जितसँगै नेपालले १–० को अग्रता बनाएको छ। दोस्रो खेल आगामी आइतबार त्यही शारजाह क्रिकेट स्टेडियममा खेलिनेछ। यो जितले नेपाललाई सिरिज जित्न र अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभावशाली उपस्थितिलाई मजबुत बनाउन थप ऊर्जा प्रदान गरेको छ।

धेरै पढिएको