नेपालको विजयी सुरुआत : कुवेत ५८ रनले पराजित
News Desk
Oct-09 , 2025 तारिख 11:36 बिहान

आइसिसी ट्वान्टी–२० विश्वकप एसिया तथा ईस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले सानदार सुरुआत गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा बिहीबार समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै प्रतियोगितामा बलियो सन्देश दियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको लक्ष्य प्रस्तुत गर्‍यो। नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए। दीपेन्द्रसिंह ऐरिले १९ बलमा २० रन जोडे भने कप्तान रोहित पौडेल १६ रनमा आउट भए। अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल भए। कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई विकेट लिए भने मोहम्मद आकिफ फरुकले एक विकेट थपे।

१४२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कुवेत १८.१ ओभरमै ८३ रनमै समेटियो। सुरुआतमै दबाबमा परेको कुवेतले पहिलो ओभरमै विकेट गुमायो। सोमपाल कामीले चौथो बलमै ओपनर रभिजा सान्दारुवानलाई बोल्ड गरे। त्यसपछि टोली उक्लिनै सकेन।

कुवेतका लागि क्लिन्टो एन्टोले २३ बलमा दुई छक्कासहित सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन र मीत भाब्सारले ११ रन जोडे। बाँकी खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन्।

नेपालका बलरहरूले सानदार प्रदर्शन गरे। ललित राजवंशी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट झारे।

यस जितसँगै नेपाल ‘सुपर सिक्स’मा पुग्न नजिक पुगेको छ। समूह चरणको दोस्रो खेलमा नेपाल शुक्रबार जापानसँग भिड्नेछ।

यस छनोट प्रतियोगितामा ९ टोली सहभागी छन्। तिनलाई तीन समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिन ढाँचामा खेलिने समूह चरणपछि प्रत्येक समूहको शीर्ष दुई टोली ‘सुपर सिक्स’मा प्रवेश गर्नेछ। सुपर सिक्समा पनि राउन्ड रोबिन आधारमै खेल हुनेछ र शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान पाउनेछन्।

धेरै पढिएको