नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर समावेश गरिएको विशेष हुलाक टिकट सार्वजनिक up
News Desk
Oct-10 , 2025 तारिख 12:00 बेलुका

हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूलाई सम्मानित गर्न उनीहरूको तस्वीर समावेश गरिएको विशेष हुलाक टिकट सार्वजनिक गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज विभागद्वारा आयोजित कार्यक्रममा उक्त टिकटमा टाँचा लगाउँदै औपचारिक रूपमा सार्वजनिक गरे। यो कार्यक्रम विश्व हुलाक दिवस २०२५ को अवसरमा आयोजना गरिएको हो। कार्यक्रममा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू–१९ विश्वकपमा सहभागी नेपाली खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकटको प्रदर्शनी समेत गरिएको थियो।

हुलाक सेवा विभागका अनुसार, खेलकुदले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याएको भन्दै नेपाली क्रिकेट टोलीको गौरवपूर्ण यात्राको सम्मानस्वरूप यो टिकट प्रकाशन गरिएको हो। विभागको २०८१ चैत्र १७ गतेको निर्णयअनुसार रु. १० दरका पाँच लाख प्रति टिकट छापिएको छ।

नेपालले सन् २०२४ जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा सम्पन्न नवौँ संस्करणको आईसीसी पुरुष विश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो। एसियाली क्षेत्रको अन्तिम छनोटमा दोस्रो स्थान हासिल गर्दै नेपाली टोलीले विश्वकप खेल्ने अवसर पाएको थियो।

त्यसैगरी, नेपाली महिला यू - १९ टोलीले पनि विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिएर देशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उज्यालो पारेको थियो।

धेरै पढिएको