जापानलाई पराजित गर्दै नेपाल समूह विजेता, आइतबार यूएईसँग भिड्ने
News Desk
Oct-10 , 2025 तारिख 08:36 बेलुका

असोज २४, २०८२ | काठमाडौं | आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक (EAP) क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै समूहको विजेता बनेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

जापानको पारी

जापानका कप्तान केन्डल काडोवाकी–फ्लेमिङले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको आकर्षक पारी खेले।
उनका साथमा इस्मान रहमानले २५ बलमा ३१ रन जोड्दै दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे।
बेन्जामिन डेविसले अन्त्यतिर १७ रन बनाए।
नेपालका बलर गुल्सन झासन्दीप लामिछानेले समान २–२ विकेट लिए भने सोमपाल कामीनन्दन यादवले १–१ विकेट झारे।
जापानका दुई ब्याटर रनआउट भए।

नेपालको विजयी पारी

१३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित दर्ता गर्‍यो।
नेपालका ओपनर आसिफ शेखले आक्रामक रूपमा खेल्दै २१ बलमा १ चौका र ४ छक्कासहित ३८ रन बनाए।
उनका जोडीदार कुशल भुर्तेलले पनि २१ बलमा ३ चौकासहित २१ रन योगदान गरे।
मध्यक्रममा कप्तान रोहित पौडेलले १८ रन, सन्दीप जोरा र कुशल मल्लले क्रमशः ५ र ४ रन बनाए।
अन्त्यतिर गुल्सन झा (२८ र उपकप्तान दीपेन्द्र सिंह ऐरी (१४)ले ४२ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

जापानका बलर शोमा सल्तारले २ विकेट लिए भने रियो साकुरानो थोमस, सबाओरिस रविचन्द्रन, र डिक्लान सुजुकीले १–१ विकेट झारे।

 सुपर सिक्समा नेपाल

यस जितसँगै नेपालले समूह ‘बी’ को विजेता बनेको छ। नेपालले अब समूह ‘ए’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) सँग आइतबार सुपर सिक्स चरणमा भिड्नेछ।
यद्यपि आजको हारपछि पनि जापानले सुपर सिक्समा स्थान बनाइसकेको छ।
समूह ‘बी’ को तेस्रो टोली कुवेत भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

 

धेरै पढिएको