News Desk
नेपाललाई पराजित गर्दै इरानले महिला ट्राइ–नेसन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार साँझ शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा भएको फाइनल खेलमा नेपाल इरानसँग ३–० गोल अन्तरले पराजित भयो। खेलको सुरुवातमै दुवै टोलीले आक्रमक प्रदर्शन गरे पनि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।
दोस्रो हाफको सुरुवातमै, ४९औं मिनेटमा इरानकी सब्स्टिच्युट खेलाडी सारा दिदारले नेपालकी डिफेन्डर बिमला विकको मार्क पार गर्दै गोल गर्दै टिमलाई अग्रता दिलाइन्। नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले बल जज गर्न नसक्दा गोल भएको थियो। त्यसपछि, खेलको ५१औं मिनेटमा डिफेन्सका क्रममा हिरा कुमारी भुजेलले फाउल गरेपछि इरानले फ्रि–किक पायो।
जाहराले सेट पिसमार्फत उत्कृष्ट प्रहार गर्दै अग्रता २–० मा पुर्याइन्। त्यसपछि ५७औं मिनेटमा सबनले लामो दूरीबाट गरेको शक्तिशाली शटले गोल गर्दै इरानको जित पक्का गरिन्। गोलकिपर एन्जिलाले डाइभ गरे पनि बल समात्न सफल हुन सकिनन्।
प्रतियोगिताको सुरुवाती खेलमा पनि इरानले आयोजक भारतलाई २–० ले हराएको थियो। लगातार दुई खेलमा क्लिन–सिट राख्दै इरानले अपराजित रहँदै उपाधि आफ्नो नाममा लेखायो।
नेपालले अब यही कात्तिक १० गते पुनः इरानसँग मैत्रीपूर्ण खेल खेल्नेछ, तर उक्त खेलले उपाधिको नतिजामा कुनै प्रभाव पार्ने छैन।