News Desk
नेपाल आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा अमेरिकासँग १०६ रनको हार बेहोरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा अमेरिका द्वारा प्रस्तुत २ सय ६३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपाल ३९ ओभर र १ बलमै १ सय ५६ रनमा समेटिएको हो। अमेरिकाका बलर हरमित सिंह नेपालका लागि घातक साबित भए l उनले ८ ओभर १ बलमा २७ रन खर्चेर ६ विकेट हात पारे।
टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा सुरुवात राम्रो गरे पनि बीचका ओभरहरूमा नियन्त्रण गुमायो। अमेरिकाका समित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै टोलीलाई ठोस आधार दिएका थिए। समित ७५ रनमा रन आउट भए भने साइतेजाले ४२ रन बनाए। अन्त्यतिर मिलिन्द कुमारले ७० अविजित रन जोड्दै अमेरिकालाई ५० ओभरमा २ सय ६२ रनसम्म पुर्याए। नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल, आरिफ र दिपेन्द्रले १–१ विकेट हात पारे।
लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गर्यो। ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले ६९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि भीम २९ र आसिफ ३७ रनमा आउट भए। मध्यक्रममा रोहित पौडेल (२), अरिफ शेख (२०) र गुलशन झा (११) पनि लामो समय टिक्न सकेनन।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ४० रन बनाए पनि टोलीलाई जितको बाटोमा फर्काउन सकेनन। हरमित सिंहको सटीक बलिङले नेपालको ब्याटिङ लाइनअप धराशायी भयो।
यो जितसँगै अमेरिका २१ खेलबाट ३० अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ, जबकि नेपाल १२ अंकसहित सातौँ स्थानमै सीमित छ। नेपालले अब आउँदो मंगलबार यूएई विरुद्ध अर्को महत्वपूर्ण खेल खेल्नेछ।
नेपालका लागि यो पराजय आत्ममूल्यांकनको अवसर पनि बनेको छ ब्याटिङको अस्थिरता, मिडल अर्डरको कमजोर प्रदर्शन र निरन्तरता अभावले टोलीलाई पुनः रणनीतिक सुधार गर्नुपर्ने देखाएको छ।