आईसीसी लिग–२: आज नेपाल र यूएई आमनेसामने, पुनरागमनको लक्ष्यसँग मैदानमा उत्रिँदै
News Desk
Oct-30 , 2025 तारिख 07:04 बिहान

दुबई |आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरू हुनेछ। यो २०२३/२७ लिग–२ चक्रको ८८औं खेल हो।

नेपाल र यूएई दुवै टोली अहिले खराब फर्मबाट गुज्रिरहेका छन्। सिरिजमा दुबै एसियाली टोली अमेरिकासँग हार बेहोरेका छन्, जसले आजको भिडन्तलाई आत्मविश्वास फिर्ता गर्ने अवसर बनाएको छ।

नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो। अमेरिकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको लक्ष्य तय गरेको थियो। स्मित पटेलले ७५ रन र मिलिन्द कुमारले ५० बलमा अविजित ७० रनको योगदान दिएका थिए। जवाफमा नेपाल ३९.२ ओभरमा १५६ रनमै समेटिएको थियो। आसिफ शेख र भीम सार्कीबीचको ६९ रनको साझेदारी बाहेक अरू ब्याट्सम्यान प्रदर्शन गर्न असफल रहे। अमेरिकाका बलर हरमित सिंहले ६ विकेट लिँदै नेपालको पारी धराशायी बनाए।

त्यस्तै, यूएईले पनि अमेरिकासँग पछिल्लो खेलमा ४ विकेटको हार बेहोरेको थियो। पहिले ब्याटिङ गर्दै ५० ओभरमा २११ रन बनाएको यूएईलाई अमेरिकाले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पछ्यायो।

नेपाल र यूएईबीचको प्रतिस्पर्धा सधैं रोचक रहँदै आएको छ। अघिल्ला ९ एकदिवसीय भेटमा यूएईले ५ खेल जितेको छ भने नेपालले ४ मा विजय हात पारेको छ।

लिग–२ को अंक तालिकामा नेपाल हाल सातौं स्थानमा रहेको छ। उसले १७ खेलमा ५ जित र १० हारसहित १२ अंक जोडेको छ। यूएई भने समान खेलमा ३ जित मात्र निकाल्दै ६ अंकका साथ पुछारमा छ।

नेपालका लागि हालसम्म आरिफ शेख सर्वाधिक ४०४ रनका साथ उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् भने बलिङतर्फ सोमपाल कामीले १८ विकेट लिएका छन्। आजको खेल दुवै टोलीका लागि आत्मबल फिर्ता गर्ने र लिग तालिकामा स्थिति सुधार्ने निर्णायक अवसरको रूपमा हेरिएको छ।

धेरै पढिएको