आइसीसी विश्वकप लिग–२ को जारी शृंखलामा नेपालले लगातार दोस्रो पराजय
News Desk
Oct-31 , 2025 तारिख 11:55 बिहान

आइसीसी विश्वकप लिग–२ को जारी शृंखलामा नेपालले लगातार दोस्रो पराजय ब्यहोरेको छ। शुक्रबार युएईसँगको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो।

दुबईस्थित आइसीसी क्रिकेट एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको मध्यम योगफल बनायो। तर, उक्त लक्ष्य पछ्याउन मैदान उत्रिएको युएईले ४३.३ ओभरमै ५ विकेटको क्षतिमा २३७ रन बनाएर सजिलै जित हात पार्‍यो।

युएईका ओपनर आर्यान्स शर्मा खेलका नायक बने। उनले ९७ बलमा १० चौका र ३ छक्कासहित ९८ रनको शानदार पारी खेले। उनको सन्तुलित ब्याटिङले युएईलाई जितको बाटोमा अग्रसर गरायो। साथीसँगको साझेदारी तोड्न नेपाली बलरहरू संघर्षरत रहे।

युएईले पहिलो विकेट ६३ रनमा गुमायो — ओपनर अलिशान सर्राफु ४५ रनमा क्याच आउट भए। त्यसपछि सोयब खान शून्य रनमा आउट भए भने कप्तान राहुल चोपरा ११८ रनको योगफलमा रिटायर्ड हर्ट भए। कुशल भुर्तेलले ३३.५ ओभरमा मोहम्मद वसिमलाई २६ रनमा रनआउट गरी नेपाललाई चौथो सफलता दिलाए।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै आर्यान्स शर्माको मूल्यवान् विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले पनि १–१ विकेट हात पारे। युएईका ध्रुव परासर र जहिद अलि क्रमशः १६ र ६ रनमा अविजित रहे।

यसअघि ब्याटिङमा उत्रिएको नेपालका कप्तान रोहित पौडेलले एकलौटी प्रदर्शन गरे। उनले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको शानदार शतक बनाए। ओपनर आसिफ शेखले ३५ रन र आरिफ शेखले २७ रनको योगदान दिए। आरिफ र रोहितबीच चौथो विकेटका लागि ७० रनको साझेदारी भएको थियो।

पाँचौँ विकेटमा ऐरीले कप्तानसँग ५४ रनको साझेदारी गरे पनि उनी ४१.२ ओभरमा रनआउट भए। त्यसपछि क्रमशः गुल्सन झा (०), सोमपाल कामी (६), करण केसी (१३) र अन्तिममा ललित भण्डारी क्याच आउट हुँदै नेपाल अलआउट भयो। सन्दीप लामिछाने ३ रनमा नटआउट रहे।

बलिङतर्फ युएईका जहिद अलिले ४ विकेट, जुनैद सिद्धिकीले ३ विकेट, र मोहम्मद रोहिद तथा हैदर अलिले १–१ विकेट लिए।

नेपाल यसअघि अमेरिकासँगको पहिलो खेलमा पनि १०६ रनले पराजित भएको थियो, जसले गर्दा यस शृंखलामा नेपालले लगातार दुई खेलमा हार व्यहोरेको छ।

धेरै पढिएको