News Desk
मुम्बई | भारतले घरेलु मैदानमा आयोजित महिला एकदिवसीय विश्वकप क्रिकेट २०२५ को उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले पहिलोपटक विश्वकप ट्रफी उचालेको हो।
मुम्बईको डा. डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रनको बलियो योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका ४५.३ ओभरमै २४६ रनमा समेटिँदै अलआउट भयो।
दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्टले ९८ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै उत्कृष्ट १०१ रनको शतकीय पारी खेलिन्, तर उनको प्रयास जितमा परिणत हुन सकेन। अर्की ओपनर तान्जिम ब्रिटिसले २३, सुनी लुसले २५, एनेरी डेकरसेनले ३५ र नादिनी डी कार्ल्कले १८ रन जोडे पनि अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न असफल भए। यससँगै दक्षिण अफ्रिकाले आफ्नो पहिलो विश्वकप जित्ने अवसर गुमायो।
भारतका लागि बलिङतर्फ दीप्ति शर्माले शानदार प्रदर्शन गर्दै ५ विकेट हात पारिन्। सफाली वर्माले २ विकेट लिइन् भने श्री चरणीले १ विकेट थपिन्।
यसअघि ब्याटिङ गर्दै भारतका लागि ओपनर सफाली वर्माले ७८ बलमा ८७ रन प्रहार गर्दै पारीको आधार तयार पारिन्। उनले ७ चौका र २ छक्का प्रहार गरेकी थिइन्। स्मृति मन्धानाले ४५ रन, कप्तान हर्मनप्रीत कौरले २०, दीप्ति शर्माले ५८, रिचा घोसले ३४, जमिमा रोड्रिग्सले २४ र अमनजोत कौरले १२ रन जोडे।
दक्षिण अफ्रिकाका बलर आयाबोङ्गा खाकाले ३ विकेट लिइन्, जबकि ननकुलुलेको एमलाबा, नादिनी डी कार्ल्क र चोल ट्रायोनले समान १–१ विकेट हात पारे।
सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १२५ रनले पराजित गर्दै उपाधि भिडन्तमा पुगेको थियो।
भारत यसअघि सन् २००५ र २०१७ का संस्करणमा उपविजेता बनेको थियो। यसपटकको जितसँगै भारतले अन्ततः आफ्नो पहिलो महिला विश्वकपको सपना साकार गरेको छ। महिला एकदिवसीय क्रिकेट विश्वकपमा अहिलेसम्म अस्ट्रेलियाले ७ पटक, इंग्ल्यान्डले ४ पटक र न्युजिल्यान्डले १ पटक उपाधि जितिसकेका छन्।