News Desk
आईसीसी विश्वकप लिग–टूको त्रिकोणात्मक सिरिजका लागि यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार अन्तिम खेलमा घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्न तयारी गरेको छ। खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे दुबईस्थित आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ।
लगातार तीन खेलमा पराजय बेहोरेको नेपालका लागि यो खेल जित निकाल्दै सिरिजको सान्त्वना जित दिलाउने अवसर हुनेछ। अमेरिकासँगको पछिल्लो खेलमा नेपालले केही सुधारिएको प्रदर्शन गरे पनि २ सय ७२ रनको लक्ष्य रक्षा गर्न असफल भएको थियो। यसअघि अमेरिका र यूएई दुवैसँग नेपाल एकपक्षीय रूपमा पराजित भएको थियो।
लगातार हारले नेपालको सीधा विश्वकप छनोटको आशा म्लान बनाएको छ र एकदिवसीय मान्यता जोगाउन पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ। टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा अपराजित रहँदै २०२६ को विश्वकपमा स्थान सुरक्षित गरेको नेपाल एकदिवसीय ढाँचामा भने कमजोर देखिएको छ।
अर्कोतर्फ, घरेलु टोली यूएई पनि आफ्ना खेलमा निराशाजनक परिणामसहित मैदान उत्रिँदैछ। अमेरिकासँगका दुबै खेलमा हार बेहोरेको यूएईले यस सिरिजमा अहिले सम्म नेपालमाथि मात्र जित हात पारेको छ। त्यसैले बुधबारको खेल दुबै टिमका लागि प्रतिष्ठाको लडाइँ बन्नेछ।
लिग–टूको वर्तमान अंकतालिकामा नेपाल १९ खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ भने समान खेलबाट ८ अंक जोडेको यूएई अन्तिम स्थानमा छ। दुबै टोलीका लागि आगामी चरणसम्म पुग्ने आशा जिवित राख्न आजको खेल अत्यन्त महत्वपूर्ण हुनेछ।