News Desk
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको मध्यम स्कोर बनायो। नेपालको बलिङ पक्ष बलियो रह्यो — कान्ति योगीले तीन विकेट लिँदै विपक्षी पारीलाई धराशायी पारेकी थिइन्, जबकि विनिता पुन र लक्ष्मी लामाले एक–एक विकेट हात पारे। श्रीलङ्काका तीन ब्याटरहरू शून्यमै पवेलियन फर्किए।
८८ रनको साधारण लक्ष्य पछ्याएको नेपालले केवल ५.२ ओभरमै एक विकेट गुमाएर लक्ष्य सहज रूपमा पूरा गर्यो। नेपालकी मनकेसी चौधरीले विस्फोटक प्रदर्शन गर्दै २२ बलमा ११ चौकासहित अविजित ६१ रन बनाइन्। उनको दमदार ब्याटिङले नेपाललाई सहज जित दिलायो।
विनिता पुन १३ रन बनाएर आउट भइन् भने सुषमा तामाङ ४ रनमा अविजित रहिन्। श्रीलङ्काका लागि सन्दाया निलन्थीले एक मात्र विकेट लिइन्।
श्रीलङ्काको पक्षबाट कप्तान मिहिरानी डुलान्जलीले २९ बलमा दुई चौकासहित सर्वाधिक २३ रनको योगदान दिइन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी मनकेसी चौधरीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
नेपालले अब दोस्रो खेल शुक्रबार आयोजक भारतसँग खेल्नेछ। भारतले पनि पहिलो खेलमा श्रीलङ्कालाई सजिलै १० विकेटले हराएको थियो।
यस विश्वकपमा आयोजक भारत, नेपाल, श्रीलङ्का, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान र इंग्ल्यान्ड गरी सात टिमको सहभागिता छ।