नेपाल​ र​ बङ्गलादेश बिच​को खेल​ २–२ को बराबरीमा
News Desk
Nov-14 , 2025 तारिख 06:35 बिहान

अनन्त तामाङले इन्जुरी समयमा गरेको गोलको सहायताले नेपालले बिहीबार ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली बङ्गलादेशसँग २–२ को बराबरी जोड्न सफल भएको छ।
राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा नेपालका लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे भने बङ्गलादेशका दुवै गोल स्टार मिडफिल्डर हम्जा चौधरीले नै गरे।

खेलको २९औँ मिनेटमा सुमित श्रेष्ठको डिबक्सभित्रबाट आएको ‘कट ब्याक’ बललाई रोहितले पेनाल्टी बक्स वरपरबाट शक्तिशाली प्रहार गर्दै गोलपोस्ट चुमाए। यससँगै नेपालले प्रारम्भिक अग्रता बनाएको थियो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो।

तर दोस्रो हाफ सुरु हुनासाथ बङ्गलादेशले खेलमा जबर्जस्त पुनरागमन गर्‍यो। उत्तरार्धको पहिलो मिनेटमै कप्तान जमाल भुयानको पासमा हम्जाले ‘ओभरहेड किक’ मार्फत उत्कृष्ट गोल गरे र खेल १–१ को बराबरीमा आयो।
त्यसको तीन मिनेटमै नेपालका डिफेन्डर सुमन श्रेष्ठले डिबक्समा रकिब हुसेनलाई रोक्ने क्रममा भएको फाउलका आधारमा पाएको पेनाल्टीलाई हम्जाले सफलतापूर्वक गोलमा परिणत गर्दै बङ्गलादेशलाई २–१ को अग्रतामा लगे।

खेल बङ्गलादेशतर्फ नै झुकिरहेको बेला नेपालले इन्जुरी समयमा कर्नर किक पायो। यही मौकालाई अनन्त तामाङले उपयोग गर्दै ‘ब्याकहिल फ्लिक’ मार्फत आकर्षक गोल गरे र खेललाई २–२ को रोचक बराबरीमा ल्याए। उनले गरेको यो गोलले घरेलु समर्थकहरू समेत स्तब्ध बनायो।

यससँगै नेपालविरुद्ध बङ्गलादेशको जितविहीन श्रृङ्खला अझ लम्बिएको छ। सन् २०२० नोभेम्बर १३ यता बङ्गलादेशले नेपाललाई पराजित गर्न सकेको छैन। भदौमा दशरथ रंगशालामा भएको पछिल्लो मैत्री खेल पनि गोलरहित बराबरीमा टुंगिएको थियो।
जेनजी आन्दोलनका कारण दोस्रो मैत्री खेल रद्द भए पनि दुवै टोलीले एएफसी एसियन कप छनोट तयारीकै क्रममा यो खेल खेलेका हुन्।

अब नेपाल टोली मलेसिया प्रस्थान गर्दैछ जहाँ उसले नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो महत्वपूर्ण खेल खेल्नेछ। प्रारम्भिक चार खेलमा पराजित भएपछि नेपाल छनोट प्रतिस्पर्धाबाट बाहिरिसकेको भए पनि बाँकी खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित अग्रसर छ।

धेरै पढिएको