News Desk
आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास तथा प्रशिक्षण खेल खेल्ने भएको छ।
हाल रुपन्देहीस्थित एक्सट्राटेक ओभलमा अभ्यासरत नेपाली टोली माघको पहिलो साता प्रशिक्षण र अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गर्ने तालिका तय भएको हो। श्रीलंकामा रहँदा नेपालले त्यहाँको ए टोलीसँग माघ ६, ८ र १० गते तीन वटा अभ्यास खेल खेल्नेछ।
श्रीलंका भ्रमण सम्पन्न गरेपछि नेपाली टोली भारत जानेछ। भारतको मुम्बईमा माघ १३ र १४ गते दुई दिन प्रशिक्षण गरेपछि मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट ११ टोलीसँग दुई वटा ट्वेन्टी–ट्वेन्टी अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। पहिलो खेल माघ १५ गते दिउँसो र दोस्रो खेल माघ १७ गते डे–नाइट हुने जनाइएको छ।
मुम्बईमै नेपाली टोलीले विश्वकप अन्तर्गत समूह चरणका खेलहरू खेल्नेछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेब्रुअरी ७ देखि सुरु हुने आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको १०औँ संस्करणमा नेपाल समूह ‘सी’ मा परेको छ।
समूह ‘सी’ मा नेपालसँगै दुई पटकको विश्वकप विजेता इङ्ल्याण्ड, वेष्ट इण्डिज, बंगलादेश र इटाली रहेका छन्। नेपालले विश्वकपको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्याण्डविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ।