News Desk
वीरगंज । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत आज क्रिकेटतर्फ ३ र फुटबलतर्फ ४ गरी जम्मा ७ खेल सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतियोगितामा सहभागी विद्यालयस्तरीय खेलाडीहरूले उत्साहपूर्ण, अनुशासित र प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन्।
क्रिकेटतर्फको पहिलो खेलमा मुनलाईट स्कुलले मिनील्याण्ड स्कुललाई ८४ रनको ठूलो अन्तरले पराजित गर्दै सशक्त जित निकालेको छ। टस जितेर ब्याटिङ गरेको मुनलाईटले १५ ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो। जवाफी ब्याटिङमा मिनील्याण्डले पूरा ओभर खेले पनि ६१ रनमै समेटिन पुग्यो। ४५ रन बनाएका दिलराज यादव म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा फुर्कान एकेडेमीले नेपाल काभेरीलाई ८ विकेटले पराजित गर्यो। नेपाल काभेरीले ६ विकेट गुमाएर ९५ रन बनाएकोमा फुर्कान एकेडेमीले २ विकेटको क्षतिमा १२.२ ओभरमै लक्ष्य पूरा गर्यो।
तेस्रो क्रिकेट खेलमा सेन्ट जेभियर्सले आचार्य एकेडेमीमाथि सहज जित हात पार्यो। सेन्ट जेभियर्सले १५ ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो भने आचार्य एकेडेमी ८४ रनमै सीमित रह्यो।
फुटबलतर्फ, गुरुकुल एकेडेमीले गोल्डेन फ्युचर माविलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्यो। गोल्डेन फ्युचरका खेलाडीबाट भएको आत्मघाती गोल निर्णायक बन्यो। गुरुकुलका युहान राई म्यान अफ द म्याच बने।
दोस्रो फुटबल खेलमा ज्ञानदा एकेडेमीले नेपाल काभेरीलाई ३–२ गोल अन्तरले पराजित गर्यो। उत्कृष्ट खेल प्रदर्शन गरेका अनुरन्जन साह म्यान अफ द म्याच घोषित भए।
तेस्रो खेलमा बिकन माविले वीरगञ्ज पब्लिक ई–स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित गर्यो। उक्त खेलमा बिकनका अंश थारु म्यान अफ द म्याच बने।
चौथो तथा अन्तिम खेलमा साउथ जोनले डिएभीलाई ५–० ले पराजित गर्दै शानदार जित दर्ता गर्यो। साउथ जोनका आयुष चौधरी म्यान अफ द म्याच घोषित भए।
आयोजकका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
