प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ को उपाधि ठोरी एकेडेमीलाई
News Desk
Jan-30 तारिख 07:25 बेलुका

वीरगंज - प्याब्सन पर्साको आयोजनामा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ को उपाधि ठोरी एकेडेमीले जितेको छ। फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा ठोरी एकेडेमीले मुनलाईट माविलाई ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलको म्यान अफ द म्याच ठोरी एकेडेमीका असिन थापा घोषित भए।

तेस्रो स्थानका लागि भएको खेलमा विकन माविले एसआर ग्यालेक्सी एकेडेमीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। उक्त खेलका उत्कृष्ट खेलाडी विकन माविका रेहान खान बने भने एसआर ग्यालेक्सी एकेडेमी चौथो स्थानमा रह्यो।

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त विद्यालयले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगदसहित मेडल, प्रमाणपत्र तथा शिल्ड प्राप्त गरेका छन्। चौथो स्थान प्राप्त विद्यालयलाई शिल्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर ठोरीका असिन थापा मगर, उत्कृष्ट डिफेन्डर मुनलाईटका विश्वास महतो, उत्कृष्ट मिडफिल्डर दिव्यांशु पण्डित, उत्कृष्ट स्ट्राइकर ठोरीका यवेश राई, सर्वाधिक गोलकर्ता मुनलाईटका प्रिन्स आले मगर तथा म्यान अफ द सिरिज ठोरीका असिन थापा मगर घोषित भए। उत्कृष्ट खेलाडीहरूले बल, बुट, शिल्ड, क्याप र नगद १५ सय रुपैयाँ प्राप्त गरे।

समापन समारोहमा फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै एन्फा पर्साका प्रशिक्षक गृष्ममणि शाक्यलाई सम्मान गरिएको थियो। उहाँलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले सम्मान गर्नुभयो।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारी, सुरक्षा निकाय, खेल संघ, सञ्चारकर्मी, प्रायोजक र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

धेरै पढिएको