छैँटौँ टाइगर कप भलिबलको उपाधि गण्डकी प्रदेशलाई
News Desk
Feb-01 तारिख 06:40 बिहान

कास्की | छैँटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

फाइनलको पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्यो। गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्यो।

उपाधिसँगै गण्डकी प्रदेश भलिबल सङ्घले छ लाख ६६ हजार ६६६ रुपियाँ पुरस्कार प्राप्त गर्‍यो। उपविजेता बनेको नेपाल पुलिस क्लबले तीन लाख ६६ हजार ६६६ रुपियाँमा चित्त बुझायो भने तेस्रो स्थान हासिल गरेको पर्वत जिल्ला भलिबल सङ्घले दुई लाख छ हजार ६६६ रुपियाँ हात पार्‍यो।

तेस्रो स्थानका लागि भएको खेलमा पर्वत जिल्ला भलिबल सङ्घले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले २६ हजार ६६६ रुपियाँ पुरस्कार प्राप्त गरे। त्यस्तै सर्भरतर्फ अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्ट र प्रशिक्षकतर्फ रमेश केसी विधागत उत्कृष्ट घोषित भए। उनीहरूले जनही ११ हजार १११ रुपियाँ पुरस्कार पाए।

महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले जित्यो भने नेपाल पुलिस क्लब उपविजेता र थाइल्यान्ड क्विन्स तेस्रो स्थानमा रहे।

टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोलीको सहभागिता रहेको थियो।

धेरै पढिएको